समाज

कुपाेषणका कारण बालिकाकाे मृत्यु

 पवित्रकुमार शाही्

 कालिकोट–जिल्लाको सिपखाना गाविस– ६ की १४ महिने बालिका सुशीला योगीको कुपोषणका कारणले मृत्यु भएको छ।  लामो समयदेखि कुपोषणको शिकार भएकी योगीको उपचारकालागि जिल्ला अस्पताल ल्याउदै गर्दा बाटोमा मृत्यु भएको हो।

बालिकालाई कडा खालको कुपोषणसँगै निमोनियाको समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका प्रमुख कौशल अलीले बताए। ‘बालिकामा लामो समयदेखि कडा खालको कुपोषण रहेको पाइएको छ,’ उनले भने, ‘जिल्ला अस्पतालमा उपचारकालागि ल्याउँदै गर्दा उनको मृत्यु भएको हो।’

जिल्ला अस्पताल कालिकोटले शीघ्र तथा कडा कुपोषण भएका बालबालिकाकालागि विशेष उपचार कक्षको स्थापना भर्खरै संचालनमा ल्याएको छ। कुषोषणको उच्च जोखिममा रहेका बालबालिकालाई स्वास्थ्य क्षेत्रमा पहुँच पुर्याउन विशेष उपचार कक्षको ब्यवस्था गरिएको छ। कुपोषणलाई न्यूनिकरणमा ल्याउन विशेष उपचार कक्षको व्यवस्था गरिएको कुपोषित बालबालिका कालिकोटका उच्च दरमा रहेको यो विशेष उपचार कक्ष स्थापानाले त्यसमा न्युनीकरण आउने जिल्ला अस्पताल कालिकोटका प्रमुख कौशल अलीले बताए ।

कालिकोट जिल्लामा कुपोषणको जोखिम निकै भएको  र त्यसलाई हटाउन जिल्लामा अस्पतालमा पहिलो पटक विशेष उपचार कक्षको ब्यवस्था गरिएको जिल्ला अस्पताल कालिकोटका पोषण अधिकृत कटक महतले बताए । जिल्ला अस्पताल कालिकोटका अनुसार हाल जिल्लामा १ हजार १ सय १५ जना कडा कुपोषित, ३ हजार ३ सय ४५ जना मध्यम खालका कुपोषित बालबालिका रहेका छन् ।

 

प्रकाशित: ३० कार्तिक २०७३ ०७:१४ मंगलबार

कुपाेषणका कारण बालिकाकाे मृत्यु