समाज

गाउँले मनाउँदै मनाएन बजारतिर भने दुई दिन होली

रौतहटको ग्रामीण क्षेत्रमा मंगलबार होलीको कुनै रौनक छैन। होलीको दिन हुनुपर्ने अबिर, रंग तथा माछा र मासुको भोज अनि युवाहरुको समूहगत होली नृत्य केही पनि देखिएको छैन। ग्रामीण समुदायले बुधबार होली मनाउँदै छ।

सहर बजारतिर भने मंगलबार र बुधबार दुई दिन होली भएको छ। मंगलबार गरुडा बजारको मांसाहारी पसल एउटा पनि खुलेन। समत भनिने होलिकादहन भइसकेको तर मंगलबार परेको हुनाले काटमार नहुने भन्दै माछा मासु पाइने होटल मंगलबार शतप्रतिशत बन्द भएका छन्।

स्टाफ होटल गरुडाका संचालक भन्छन् – आज मुख्य होलीको दिन हो तर मंगलबार परेको हुनाले कतै कसैले मासु र माछा किन्ने तथा खाने हुँदैनन्। हाम्रो धर्मले होटल संचालन गर्न पनि नदिने उनी बताउँछन्।

बजारका मानिसहरु भने दुई दिन मज्जाले होली मनाउने भएका छन्। मुख्य गरी चन्द्रपुर र गौरमा दुई दिन भव्य होली मनाइएको हो। हुनेखानेले माछा, मासु र मदिराको सेवन दुई दिन खूब गर्ने तर नहुनेको लागि भने होली एक दिन बुधबार मात्र भएको गौरका विक्रान्त विक्रम नेपाल बताउँछन्।

जिल्लाको उत्तरी क्षेत्र चन्द्रपुरमा पनि होली दुई दिन मनाइने भएको छ। मुख्य होली बुधबार भए पनि अधिकांश परिवारले मंगलवार पनि होली मनाएका छन्। होलीको दिन जस्तो गाउँ, चोक र बजारमा रौनक नभए पनि खाने र पिउनेले भने मज्जाले होली मनाएको चन्द्रनिगाहपुर बजारका उदय साह बताउँछन्।

तराई मधेशमा आइतबार, मंगलवार र विहीवार धेरै मानिसले माछा र मासु नखाई साकाहार भोजन मात्र गर्ने गर्दछन्। यही प्रवृत्तिको कारण मुख्य गरी ग्रामीण क्षेत्रमा मंगलवार होली मनाइएको छैन। संस्कृतिका जानकार साहित्यकार सञ्जय साह मित्रले समाजले मान्ने स्वचालित निषेध संस्कृतिको प्रभावले मंगलवार ग्रामीण समुदायले होली नमानेको बताएका छन्।

आर्थिक मन्दीको प्रभाव ग्रामीण क्षेत्रमा पनि देखिएकोले दुई दिन होली मनाउँदा दोहोरो खर्च पर्ने भएकोले पनि सर्वसाधारणले एक दिन होली मनाउने भएको गौरका नेपाल बताउँछन्। होली आफैँमा रमाउने संस्कृति भए पनि महँगीले अत्यन्त खर्चिलो बनाएको बताउँदै नेपालले एक दिन होली खेल्दा खर्च र स्वास्थ्य दुवै जोगिने बताउँछन्।

सामान्यता फागुन शुक्ल पूर्णिमाको दिन होलिकादहन हुने भोलिपल्ट होली मनाइने संस्कृति रहेको रौतहट लगायत मधेशका अन्य जिल्लामा बुधबार मात्र होली मनाइँदै छ। नेपाली क्यालेन्डरहरुले सोमबार र मंगलबार दुई दिन पूर्णिमा बताएकोले दुई दिन होली हुने भएको हो।

दुई दिन होली मनाउने परिवारमा मंगलबार शाकाहारी होली र बुधबार मांसाहारी होली गर्दै रंग र अबिर बुधबार नै खेल्ने भएको साहित्यकार मित्रको भनाइ छ। 

प्रकाशित: २३ फाल्गुन २०७९ १३:४३ मंगलबार

होली