समाज

एटिएम ठगको प्रमुख निशाना नेपाल, ७२ घन्टामा २६ लाख निकालियो

काठमाडौं- एटिएमबाट गरिने ठगी कसुरमा सजाय कम र बैंकले सञ्चालनमा ल्याएका एटिएम मेसिनमा हुने सहजताका कारण अन्तर्राष्ट्रिय संगठित गिरोहको निशानामा नेपाल रहेको निष्कर्ष प्रहरीले निकालेको छ।

केन्द्रीय अनुसन्धान ब्युरोले एक सातामा पक्राउ गरेका पाँचजना रोमानियन र टर्किसको प्रारम्भिक बयान र उनीहरूको एटिएम ठगी शैलीपछि नेपालका बैंकमा निक्षेपकर्ताको रकम जोखिममा रहेको निष्कर्षमा प्रहरी पुगेको हो। ब्युरोले एटिएम ठगी धन्दामा लागेको आरोपमा बिहीबार दुई टर्किसलाई २६ लाखभन्दा बढी नेपाली रुपैयाँसहित पक्राउ गरेको छ। अघिल्लो शुक्रबार तीन रोमानियन एटिएमा ठगीमा प्रयोग हुने अत्याधुनिक उपकरणसहित पक्राउ परेका थिए।

'ठगीमा संलग्न देशका नागरिकलाई नेपालमा छिर्न नदिन विमानस्थलमै कडाइ गर्ने र नेपालको एटिएम सुरक्षा प्रणाली मजबुत बनाउनुपर्ने देखियो, यहाँ पाइने सहुलियतका कारण एटिएम ठगको निशानामा नेपाल रहेको पाएका छौं,' ब्युरो प्रमुख डिआइजी नवराज सिलवालले भने। उनका अनुसार पक्राउ परेका व्यक्तिका साथबाट बरामद सयौं थान खाली एटिएम कार्ड र उपकरण विमानस्थल भन्सार पार गरेर आएका हुन्।

विभिन्न बैंकका एटिएम बुथहरूबाट नेपाली तथा विदेशीको रकम निकाल्ने गिरोहका टर्कीको राहदानी नम्बर यु १२८७७१८० बाहक ५२ वर्षीय मुहरिम उजुन र राहदानी नम्बर यु १२६७४५८८ बाहक ३२ वर्षीय सेलाहत्तिन याबरलाई ब्युरोले बिहीबार पक्राउ गरेको हो। ब्युरोले एलो प्यागोडा होटल, कान्तिपथबाट उनीहरूलाई पक्राउ गरेको हो । ब्युरोले  उनीहरूको साथबाट एटिएम कार्ड १ सय १३ थान, मोबाइल फोन २ थान, कार्डका पिन लेखिएको कागज ८ पेज र स्वीस घडी १ थान बरामद गरेको छ ।

७२ घन्टामा २६ लाख रुपैयाँ

पर्यटन भिषामा तीन दिन पहिले नेपाल आएका उजुन र याबरले करिब ७२ घन्टाको अन्तरमा काठमाडौंका विभिन्न एटिएम बुथबाट एटिएम प्रयोग गरी २६ लाख रुपैयाँ निकालेको अनुसन्धानमा खुलेको छ। ब्युरोका अनुसार यही नोभेम्बर ७ मा नेपाल प्रवेश गरेको ७२ घन्टामा नियन्त्रणमा लिएको थियो। ब्युरोका अनुसार मे २६ देखि याबर र उजुन नेपाल आउजाउ गरिरहेका छन्। उनीहरू तेस्रोपटक आएका बेला पक्राउ परेका हुन्।

ब्युरोका एसपी दिवेश लोहनीका अनुसार पछिल्लोपटक नेपाल आएको दिनदेखि नै दुवैजना आफूसँग रहेका पिन नम्बर र पासवर्डको प्रयोग गर्दै पैसा निकाल्न व्यस्त थिए। लोहनीका अनुसार उनीहरू बसेको होटलबाट पिन नम्बर र पासवर्डसहितको आठ पेज लामो फेहरिस्त समेत बरामद भएको छ। अघिल्लो शुक्रबार पक्राउ परेका रोमानियनबाहेक गिरोहका अन्य सदस्यले उपलब्ध गराएका नम्बर र पासवर्डसहित ती दुई रोमानियन नेपालमा एटिएमबाट ठगी गर्न आएका हुन्।

एटिएम सुरक्षा प्रणाली कमजोर

नबिल बैंकले आफ्नो एटिएम सुरक्षा प्रणाली मजबुत भएको सार्वजनिक सूचना जारी गरेकै दिन केन्द्रीय अनुसन्धान ब्युरोले दुई टर्किसलाई नबिलकै बुथबाट रकम निकालेको प्रमाणसहित पक्राउ गरेको छ। ब्युरोले केही दिनअघि पक्राउ गरेका रोमानियन घिता हुजुम, लोसिफ मोराउ,  र एलेक्स क्रिस्टियन बुघिरुलानले नेपाल इन्भेष्टमेन्ट बैंकको एटिएम बुथ प्रयोग गरेका थिए। 

प्रहरीले करिब डेढ महिनादेखि काठमाडौंका एटिएम बुथको गोप्य निगरानी एटिएम ठगहरूबाट भइरहेकाले सर्वसाधारणको बैंक मौज्दात खतरामा रहेको संकेतसहित एटिएम पिन नम्बर फेर्न सार्वजनिक आह्वान गरिसकेको छ। ब्युरोले शुक्रबार पक्राउ गरेका तीन रोमानियनले काठमाडौं र पोखरामा बसेर एटिएम बुथबाट प्रयोगकर्ताको गोप्य सूचना लिएको र इमेलमार्फत बाहिर पठाएको जनाएको छ। नेपालमा हाल ३५ लाखको हाराहारीमा विभिन्न बैंकका एटिएम प्रयोगकर्ता छन्।

ब्युरोका प्रमुख डिआईजी सिलवालले पक्राउ परेका विदेशीहरू प्राविधिक रुपमा दक्ष रहेको र सोही अनुसारका उपकरणमार्फत एटिउम् बुथबाट सूचना संकलन गरेको अनुसन्धानमा देखिएको बताए। उनका अनुसार बढी मात्रामा प्रयोगमा आउने बैंकका एटिएम बुथमा गोप्य क्यामेरा  र एटिएम कार्डका सूचना प्राप्त गर्ने उपकरण गिरोहले प्रयोग गरेको थियो। 'गिरोहले यसरी प्राप्त गर्ने सूचना आफूसँगै रहेका कार्डमा प्रयोग गरेर रकम झिक्ने गरेको पाइएको छ। यसबाहेक त्यो सूचना विदेशमा रहेका सदस्यलाई पनि पठाएको हुनसक्छ,' सिलवालले भने। उनले बैंक र बैंकका ग्राहकलाई होसियारी अपनाउन आग्रह गरे।

ब्युरोले कात्तिक ११ मा बुल्गेरियन नागरिक डिमो एन्टेनसोभ स्टेफान्भो र साउनमा रोमानियन प्रेडा औरेलियनलाई पक्राउ गरेको थियो। यसअघि २०७१ मा पनि एटिएम ठगीका दुई घटना ब्युरोले सार्वजनिक गरेको थियो। ती दुई घटनाका अभियुक्तलाई जनही चार वर्ष कैद र बरामद रकम जफतको फैसला काठमाडौं जिल्ला अदालतले सुनाएको ब्युरोले जनाएको छ। अन्य देशको तुलनामा नेपालमा बैंकिङ ठगी कसुरमा सजाय कम भएकाले ठगको निशानामा नेपाल परेको प्रहरी बताउँछ।

प्रकाशित: २६ कार्तिक २०७३ ०२:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App