समाज

उपत्यकामा पहिलो किस्ता बाँड्न अख्तियारी

काठमाडौं- राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले काठमाडौं उपत्यकाका भूकम्प प्रभावित तीन जिल्लाका घरधनीलाई आवसा बनाउन पहिलो किस्ताको अनुदान रकम वितरणका लागि स्थानीय विकास मन्त्रालय, केन्द्रीय आयोजना कार्यान्वयन इकाइलाई ३ अर्ब ५७ करोड ८० लाख ५८ हजार रुपैयाँको अख्तियारी प्रदान गरेको छ।

काठमाडौं, भक्तपुर र ललितपुरमा गत वर्षको भूकम्पबाट भत्किएका निजी घर निर्माणका लागि अनुदान लिन सम्झौता गरेका घरधनीलाई पहिलो किस्ताबापत् ५० हजार रुपैयाँ प्रदान गर्न प्राधिकरणले उक्त इकाइलाई अख्तियारी दिएको हो।

उपत्यकामा अनुदान सम्झौता भइरहेको छ। इकाइका अनुसार हालसम्म ३ हजार ७७ घरधनीसँग अनुदान सम्झौता भइसकेको छ। अनुदान सम्झौताका लागि काठमाडौंमा ४२ हजार ५ सय, ललितपुरमा २४ हजार १ सय २८ र भक्तपुरमा २४ हजार ९ सय घरधनीको नाम पहिचान भएको जानकारी प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले दिए।

प्रकाशित: २६ कार्तिक २०७३ ०१:४८ शुक्रबार

उपत्यकामा पहिलो किस्ता बाँड्न अख्तियारी