समाज

द्वन्द्वको दुखिरहने घाउ:राज्य मौन बसिदिँदा बलात्कृत महिलाको जीवन अधकल्चो

देश परिबर्तनका लागि १० बर्ष देशमा चलेको सशस्त्र द्धन्द्धको घाउले आज पनि रोल्पालीलाई दुखाइरहेको छ।मृतकका परिवार विनाकारण आफन्त मारिनुको कारणबाट बेखबर छन् भने बलजफ्ती बेपत्ता पारिएका परिवार पर्खाइमा बसेका छन्।घाइते, अपांग, विस्थापित, सम्पत्ति लुटिएकाको त कतैकतै गन्तीसमेत हुन छोडेको छ।उल्लेखित पीडितहरू कतै न कतै तै राज्यको सामीप्यतामा आएका छन्।धेरथोर राहत बुझेका छन् वा सत्य निरूपण तथा मेलमिलाप आयोग तथा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा उजुरीसम्म गर्न पाएका छन्।आर्थिकसँगै मनमा चरम मानसिक समस्या बोकेर हिँडेका पीडितको अपेक्षामा तुवालो लागे पनि अपेक्षा गर्ने सानो ठाउँ छ।

तर तत्कालीन माओवादी द्वन्द्वका समयमा अन्य यातनासँगै यौन हिंसा खेपेका महिलाका बारेमा आजसम्म पनि राज्य मौन बसिँदिदा धेरै महिलाहरू मानसिक समस्या बोकेर अधकल्चो जीवन बाँचिरहेका छन्।बलात्कारको घाउमा खाटा लागेको देख्ने उच्च राजनीतिक नेतृत्वसँग उनीहरूको गुनासो पनि रहेको छ।२०७८ चैत महिनामा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको छेउमा बसेका माओवादी सुप्रिमो पुष्पकमल दाहालका अघिल्तिर द्वन्द्वका समयमा यौन हिंसा खेपेका हिम्मत बोकेका महिलाहरूले आफ्नो पीडा सुनाए।नेताद्वयले आँशु पनि झारे तर उपलब्धि आजसम्म पनि शून्य छ।

‘नेताले सत्तामा पुगेर सहयोग गर्लान भनेको प्रमाणका रूपमा बलत्कारको घाउ देखाऊ भन्छन्।बलात्कारको घाउ खोज्न कहाँ जानु?’ द्वन्द्वमा यौन हिंसा खेपेकी पूर्वीरोल्पाकी एक पूर्वलडाकु भन्छिन्, ‘महिनौं सेनाको कब्जामा बस्दा दिनदिनै मरेको शरीर शान्ति स्थापनापछि हाम्रै नेतृत्व आउँदा केही त होला भन्ने थियो तर उनीहरूले नै घाउ देखाउन भन्छन्।’ चिकित्सकका अनुसार यतिबेला शारीरिकसँगै मानसिक रोगको शिकार भएकी उनलाई गतिलो उपचारको खाचो छ तर आर्थिक अभावमा मृत्युको दिन गन्दैछिन्।

सेनाको चरम यातनासँगै लामो समय हिंसा भोगेकी उनको शरीरमा सुगर, प्रेसर, युरिक एसिडलगायत आधा दर्जनभन्दा बढी रोगले आक्रमण गरेको छ।‘भोलि बादल लाग्छ कि घाम लाग्छ शरीरले आजै थाहा पाउँछ।पेटभरि खाने पैसा छैन उपचार केले गर्ने?,’ पूर्वलडाकु ती महिला भन्छिन्, ‘दैनिक मजदुरी गर्ने श्रीमान्ले मेरो स्याहार गरुन् कि पैसा कमाउन जाउन्।विचरा उनको शरीरमा पनि छर्रा छ।मर्न मन लाग्छ तर छोराको अनुहार सम्झेर आत्महत्या गर्न पनि सक्दिन।’ निरन्तर मनोविमर्श सेवा, मानसिक उपचारसागै शारीरिक उपचार आवश्यक पर्ने उनलाई आफू परिवर्तनका लागि युद्धमा होमिएको पछुतो लाग्न थालेको छ।

रोल्पाकै दुर्गम गाउँकी अर्कि एक महिला विगत सम्झेर एक्लै रुन्छिन्।देशमा द्वन्द्व चल्दा बलात्कारमा परेको जानकारी पाएपछि श्रीमान्को माया घट्दै गएको बताउने उनले मर्नका लागि ३ पटक प्रयाससमेत गरिन्, तर सकिनन्।‘सानै थिए।शनिबार गोठाला गएको बेला छिर्केबिर्के लुगा लगाएका ३ जनाले पालैपालो मलाई जबरजस्ती गरेका हुन्।आज पनि त्यो कपडा लगाएको मान्छे देख्दा तर्सिन्छु,’ उनले भनिन्, ‘बिहे गरेको अलि समयपछि श्रीमानले म बलात्कारमा परेको थाहा पाएछन्।अहिले त्यही कुरा सुनाइरहन्छन्।अति भएपछि ३ पटक मर्ने प्रयास गरे तर सकिन।’ थाहा पाएर पनि केही नबुझेजस्तो गर्ने राजनीतिक नेतृत्वसँग उनको धेरै अपेक्षा छ।

जिल्ला अस्पतालका चिकित्सकहरू रोल्पामा मानसिक स्वास्थ्य समस्या अत्याधिक रहेको बताउँछन्।अत्याधिक मदिरा, गरिबीसँगै विगतको द्वन्द्वका कारण पनि आत्महत्या बढिरहेको हो।‘मानिसहरूमा कुनै रोग नभए पनि विभिन्न समस्या ल्याएर अस्पताल आउने गरेका छन्।’ एक चिकित्सक भन्छन्, ‘धेरै घाइते अपांगहरू अस्पताल आएर रुन्छन्।हिंसापीडित हामीसँग खुल्दैनन् तर उनीहरूमा व्यापक मानसिक समस्या छ।बेपत्ताका श्रीमतीहरू पनि असाध्यै पीडामा छन्।’ चिकित्सकहरूका अनुसार रोल्पामा द्वन्द्वले नमिठो छाप छोडेको छ।

उतिबेलाका सत्ता पक्ष र विद्रोही पक्ष पटकपटक सँगै सत्ताको दैलोमा छिरेका छन्।राजनीतिक उच्च नेतृत्व काँध मिलाएर सबै भुलेका छन् तर भोग्नेको घाउ दुखिरहन्छ।माओवादी युद्ध दबाउन बल लगाएको कांग्रेस र बन्दुकबाट सत्ता खोजेको माओवादी यतिबेला पनि एउटै हौ जस्तो गरेर बसेका छन्।अर्थात् भागबन्डामा छन्।सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग सक्रिय नपारिदिँदा त्यहाँ दर्ता गरिएका उजुरीको सुरक्षामाथिसमेत प्रश्न उठ्न थालेको छ।

शान्ति स्थापनापछि पटकपटक राज्य सत्ताको मुल दैलौबाट भित्र छिरेका करिब दर्जन नेतृत्वले द्वन्द्वपीडितका पक्षमा कहीँ कतै सम्बोधनसमेत गरेको पाइँदैंन।दुईपटक उपराष्ट्रपति बनेका नन्दबहादुर पुन रोल्पाकै माटोका उत्पादन हुन्।पटकपटक मन्त्री हँुदै सभामुख बनेका कृष्णबहादुर महरा र ओनसरी घर्ती रोल्पामै जन्मेहुर्केर यहिबाट राजनीति सुरु गरेका पात्र हुन्।पटकपटक मन्त्री बनेका वर्षमान पुनले अर्थमन्त्रीसम्म सम्हाले।लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री रोल्पामै शिक्षण पेसा गर्दा गर्दै युद्धमा होमिएका थिए।मन्त्रीको पदमा जयपुरी घर्तीले पनि स्थान पाएकी थिइन्।उनी सहिद परिवारसमेत हुन्।त्यसो त कांग्रेस प्रदेश सभापति अमरसिंह पुन पनि शान्ति प्रक्रियापछि मन्त्रालय छिरे।तर यी सबै पात्रले द्वन्द्वको घाउमा मल्हम लगाउन गतिलो भूमिका कहिले नखेलेको पीडितको गुनासो छ।

तत्कालीन माओवादी द्वन्द्वका क्रममा ९ सय ६९ सहिद र ३३ जना बेपत्ता रहेको रोल्पामा घाइते, अपांग, टुहुरा, एकल÷महिला, विस्थापित, अंगभंग हुनेको संख्या गनि नसक्नुको छ।द्वन्द्व सकिएर शान्ति स्थापनाको १६ वर्ष पूरा भइसक्दासम्म पनि वास्तविक पीडितको अवस्था दर्दनाक र कहाली लाग्दो देखिन्छ।नांगो आँखाले हेर्दा रोल्पा शान्त देखिए पनि आम मानिसको मनमा पीडा र छटपटिले बास गरिरहेको छ।शान्ती स्थापनासँगै सत्ता चलाउनेहरूले यहाँ विकास भनेको सडक हो भन्नुभन्दा अरू बुझेको देखिँदैन।

प्रकाशित: २३ फाल्गुन २०७९ ०२:२३ मंगलबार