समाज

डोटीका ३२ विद्यालयलाई 'वाइफाइ डिभाइस'

डोटीको बडीकेदार गाउँपालिकाले ३२ वटा सामुदायिक आधारभूत विद्यालयलाई ब्रोड ब्याण्ड इन्टरनेट सेवाका लागि वाइफाइ डिभाइस वितरण गरेको छ।

पालिकाले संघीय सरकारसँग गरेको सम्झौता अनुसार दूरसञ्चार प्राधिकरणको सहयोगमा फोरजी सेवा चल्ने सिमकार्डसहितको वाइफाइ डिभाइस वितरण गरेको हो। शिक्षामा नयाँ प्रविधिको प्रयोग गरी शिक्षण कार्यलाई थप प्रभावकारी बनाउन सहजता होस् भन्ने उद्देश्यले वाइफाइ डिभाइस वितरण गरिएको बडीकेदार गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विवेक देउवाले बताए।

उनले विद्यालयमा इन्टरनेट सेवा जडान हुँदा पढाइका साथै विद्यार्थीलाई नयाँ विषयवस्तुबारे जानकारी गराउन थप सहज हुने विश्वास व्यक्त गरे। बडीकेदार गाउँपालिकाअन्तर्गत ३२ आधारभूत र नौ माध्यमिक विद्यालय गरी ४१ वटा विद्यालय छन्।

पालिकाअन्तर्गत रहेका माध्यमिक विद्यालयमा इन्टरनेट सेवा पहिले नै जडान भइसकेको छ। पालिकाले यसअघि २२ विद्यालयमा कम्प्युटर शिक्षकको दरबन्दी सिर्जना गरी शिक्षकको व्यवस्थापन गरिसकेको छ।

विद्यालयलाई सिमसहितको उपलब्ध गराएको डिभाइसमा इन्टरनेट सञ्चालन गर्नका लागि दुई वर्षसम्म आवश्यक शुल्क दूरसञ्चार प्राधिकरण बेहोर्ने र त्यसपछि विद्यालयले व्यवस्थापन बेहोर्नेछ। विद्यालयलाई उपलब्ध गराएको एउटा डिभाइसको मूल्य ७३ हजार नौ सय रुपैयाँ रहेको छ। रासस

प्रकाशित: २२ फाल्गुन २०७९ ०६:१२ सोमबार

३२ विद्यालयलाई वाइफाइ डिभाइस