प्रत्येक मानिसका जीवनका अनेक आकांक्षा र सपना पूरा गर्ने उद्देश्य हुन्छ। तर, त्यसमा अनेक कारणले अवरोध भएर आशा पुरा हुन सक्दैनन्। कतिपयले त आशा गरे अनुसारको नतिजा नआउँदा जीवन बर्बाद पार्ने सम्मका छुटपुट घटना समेत हुने गरेका छन्।
यस्तो अवस्थामा जीवन विज्ञान प्रतिष्ठानले प्रत्येक व्यक्तिभित्र लुकेर रहेको प्रतिभालाई प्रस्फुटन गर्दै सुख, शान्ति र समृद्धिले भरिएर आनन्द दिलाउने उद्देश्यले शनिबार कोशी प्रदेशको इटहरीमा आध्यात्मिक जागरण कार्यक्रम गरेको छ।
कुनै व्यक्ति एकदमै डर, रिस, शत्रुतापूर्ण संवेगहरू देखाउँछ भने उसका शरीरका विभिन्न चक्रको गडबडी भई व्यक्तिका आशा परिणामविहीन बन्न पुग्छन्। मान्छे शारीरिक तथा मानसिक बिरामी हुन पुग्छ। जसले गर्दा आफूभित्रको जागरण नल्याईकन देश, समाज, परिवार, मानवता र विश्वका लागि फाइदा नहुने आध्यात्मिक जागरणका अगुवाले बताएका छन्।
धार्मिक जागरणका अगुवा जीवन विज्ञान प्रतिष्ठानका प्रशिक्षक एलपी भानु शर्माले मानिस खुल्ला किताब भएकाले गर्दा आफ्नो पूर्ण क्षमताका जागरण भएपछि मात्र जीवनमा पूर्णता आउने दाबी गरे।
‘बिना जागरण जीवनमा पूर्णता आउँदैन, मानिसको खुसीको स्रोत पनि आफै हो,’ उनले भने, ‘जसले गर्दा जीवन विज्ञानले वैज्ञानिक आध्यात्मिक प्रयोग गरेर व्यक्तिमा परिवर्तन गरेपछि मात्र व्यक्ति, समाज र देश बन्ने विश्वास लिएका छौँ।’
कार्यक्रममा हास्य कलाकार मदन कृष्ण श्रेष्ठले आध्यात्मिक जीवनको महत्त्वपूर्ण योग्यता भएकाले आध्यात्मिकता नहुँदा त मानिस राक्षस हुने बताए।
‘हाम्रो देशका राजनीतिक दलका नेतामा पनि आध्यात्मिकता भए मात्र देश सप्रिन्छ, देश भ्रष्टाचारमुक्त हुने थियो,’ उनले भने।
सोही क्रममा हास्य कलाकार हरिवंश आचार्यले जीवन विज्ञानको अनुसरण राजनीतिक दलका नेताले गरेमा पक्कै पनि देशमा सुधार आउने आशा गरे। आध्यात्मिक जागरणका अभियन्ता एवम् जीवन विज्ञान प्रतिष्ठानका प्रशिक्षक रमेश नेपालले शारीरिक र मानसिक दुवै ढङ्गले मानिस स्वास्थ्य भएर जीवन जिउन सकेमा मात्र आनन्द प्राप्ति हुने हुँदा नागरिकहरूमा सोही अनुसारको सचेतना फैलाउन पूर्वबाट अभियान थालिएको बताए।
पछिल्लो समय अधिकतर व्यक्तिमा मानसिक तनाव छ। यसको असर सबैमा पर्छ। जसले गर्दा मानिसलाई तनाव, चिन्ता, निराशा र अस्तव्यस्तलाई व्यवस्थापन गर्न सन्देश प्रवाह गर्न जागरण उत्सव गरिएको जानकारी दिइयो। जीवन विज्ञान प्रतिष्ठान कोशी प्रदेशले आयोजना गरेको जागरण उत्सवमा नेपालसहित ५५ देशका प्रतिनिधि सहभागी भएका छन्। नेपालबाट मात्र ४० जिल्लाका प्रतिनिधि सहभागी भएका छन्।
कार्यक्रम अन्तर्गत फागुन २१ र २२ गते जीवन विज्ञान प्रतिष्ठानका एक हजार एक सय ५५ जना प्रशिक्षकको जीवन विज्ञान परिषद् गरिनेछ। त्यसपछि एक सातासम्म जीवन विज्ञान प्रतिष्ठानले चक्र विज्ञानको कार्यक्रम राख्ने कोशी प्रदेश संयोजक बालिका खड्का भट्टराईले बताइन्।
प्रकाशित: २० फाल्गुन २०७९ १४:५८ शनिबार