खोटाङको साकेला गाउँपालिकामा निर्माणाधीन अस्पताल भवनको संरचना गुणस्तरहीन पाइएपछि भत्काएर पुनः निर्माण गर्न लगाइएको छ।
दुई नम्बर वडाको रतन्छामा निर्माणाधीन ५ शैय्याको ‘आधारभूत गाउँ अस्पताल’ को भवनको संरचना अनुगमन गर्दा गुणस्तरहीन पाइएपछि पुनः निर्माण गर्न लगाइएको हो।
निर्माणाधीन भवनको गाउँपालिका अध्यक्ष रवि प्रकाश राईसहितको टोलीले बिहीबार अनुगमन गरेको थियो। अनुगमनको क्रममा भवनको बिम ढलान गर्दा गुणस्तरहीन भएको पाएपछि भत्काएर पुनः निर्माण गर्न उनले निर्देशन दिएका हुन्।
गाउँपालिकाभित्र निर्माणाधीन विभिन्न भौतिक पूर्वाधारका संरचनाको अनुगमन गर्ने क्रममा अध्यक्ष राईले अस्पताल भवन गुणस्तरहीन पाएपछि भत्काएर अर्को बनाउन निर्देशन दिएको बताए। १ महिनाअघि पहिलो तला ढलान भएको भवनको पछिल्लो प्रगति बुझ्न स्थलगत निरीक्षणमा पुगेका अध्यक्ष राईले बिम बाङ्गो हुनुका साथै रड देखिएको पाएपछि भत्काएर फेरि बनाउन निर्देशन दिएका हुन्।
‘गाउँपालिकाभित्र निर्माणाधीन सबै भौतिक पूर्वाधार संरचनाहरु गुणस्तरीय हुनुपर्नेमा हाम्रो कसैसँग सम्झौता हुँदैन’ अध्यक्ष राईले भने ‘तर, बन्दै गरेको अस्पताल भवनको काम गुणस्तरीय नदेखिएकाले तत्काल भत्काएर पुनः निर्माण गर्न लगाइएको हो।’
उनका अनुसार प्राविधिक इस्टीमेट अनुसार गुणस्तरीय काम नगर्दा जनताबाट सङ्कलित करबाट जम्मा राज्यको सम्पत्ति दुरुपयोग र भ्रष्टाचार नै हो। त्यसैले हरेक काममा आफ्नो र गाउँपालिकाको निगरानी रहने र नियमित अनुगमन, निरीक्षण गर्दा कमजोरी पाइए माफी नहुने उनको भनाई छ।
अध्यक्षको निर्देशनपछि गुणस्तरहीन बिमको ढलान भत्काएर पुनः निर्माण गरिने भएको छ। अर्को बलियो गरी बनाउन पहिले ढलान गरेको बीम भत्काउन थालेको गाउँपालिकाका इन्जिनियर आनन्द पौडेलले बताए।
इन्जिनियर पौडेलका अनुसार अढाईतले बहुकोठे अस्पताल भवन खानी निर्माण सेवा काठमाडौँले मूल्य अभिवृद्धि कर (भ्याट) सहित ६ करोड ७६ लाख ७६ हजार ४ सय ५५ रुपैयाँमा ठेक्का लिएको छ। १८ महिनाभित्र निर्माण सकेर हस्तान्तरण गर्ने गरी २०७८ असार २१ गते सम्झौता गरेको भवन पुस २० गते म्याद सकिए पनि पूरा हुन बाँकी छ। सम्झौता अवधिमा निर्माण नसकिएपछि गाउँपालिकाले २०८० असार मसान्तसम्मका लागि पहिलो पटक म्याद थपेको छ।
काम गुणस्तरहीन भएको पाइएपछि ठेकेदारले पाउने रनिङ बीलको भुक्तानीसमेत हाललाई गाउँपालिकाले रोकेको जनाएको छ। अध्यक्षको निर्देशन अनुसार बिग्रेको बीम भत्काएर गुणस्तरीय काम गरेपछि मात्र भुक्तानी प्रक्रिया अघि बढ्ने भवनको साइट इन्चार्ज बबिन घिमिरेले बताए। तर, भुक्तानी गर्नुअघि पुनः निर्मित बीमको पनि अध्यक्ष राईले अनुगमन गरेर गुणस्तरीय देखिए मात्र प्रक्रिया अधि बढ्ने घिमिरेले बताए।
प्रकाशित: २० फाल्गुन २०७९ १४:४७ शनिबार