समाज

हावाको झोक्कामा परेर फेवातालमा डुंगा घोप्टिँदा, थिचिएर एक जनाको ज्यान गयो (अपडेट)

शनिबार दिउँसो सवा चारबजेतिर एकाएक हावा चल्यो। हावाको झोक्कामा परेर फेवातालमा छाल निम्तियो। त्यही छालमा परेर पोखरा महानगरपालिका–१ बगरको एकैपरिवार सवार डुंगा फेवातालमा घोप्टियो। डुंगा चढ्नुअघि सबै यात्रुले लाइफ ज्याकेट त लगाएका थिए। तरपनि आफै सवार डुंगा घोप्टिँदा च्यापिएर एकजना वृद्धाको भने ज्यान गएको छ। अरु भने सकुशल रहे।  

व्यक्तिगत रुपमा कायक लिएर तालमा पुगेका अरु चारजना पनि त्यस्तै छालमा परेका थिए। उनीहरुले पनि लाइफ ज्याकेट लगाएका थिए। लाइफ ज्याकेट लगाएकाले ती चारजना पनि सकुशल रहे। स्थानीयका अनुसार तालबाराही मन्दिर नजिकै परिवार सवार डुंगा तालमा घोप्टिएको थियो।  

कास्कीका प्रहरी प्रवक्ता डिएसपी श्रवणकुमार विकका अनुसार आफै सवार डुंगाले च्यापिएर पोखरा–१ बगरकी ७० वर्षिया याममाया गिरीको मृत्यु भएको हो। आफन्तसँगै ताल घुम्न गएकी गिरीले पनि लाइफ ज्याकेट त लगाएकी थिईन, तर, डुंगा पल्टिँदा उनी आफै सवार डुंगा आफैमाथि घोप्टिएको थियो। उद्धार पछि उपचारका लागि गण्डकी मेडिकल कलेज ल्याइएको थियो। ‘उद्धार हुँदा नै उनी बेहोस भईसकेकी थिईन, तर पछि मृत्यु भयो,’ विकले भने।  

बैदाम चौकीका डिएसपी बेदप्रकाश जोशीका अनुसार चारवटा कायक र एउटा प्याडल बोट तालमा पल्टेका थिए। दिउँसो सबा चारबजे एकाएक हावा लागेको बेला ती डुंगा र कायक तालमा पल्टेको उनले बताए। यात्रुले लाइफ ज्याकेट लगाएकोले धेरैजसो यात्रु पानीमा पौडिन सके, तर वृद्धा भने लाइफ ज्याकेट लगाएपनि डुंगाले थिचिएको डिएसपी जोशीले बताए। डुंगाले थिचिएकै कारणले वृद्धा तालमा तैरिन नपाएको उनले डिएसपी जोशीले बताए।

डिएसपी जोशीका अनुसार गिरी आफन्तसहित डुंगामा सवार थिइन। गिरी सवार डुंगामा परिवारका पाँचजना सदस्य थिए। ‘एकाएक हावाहुरी आउँदा डुंगा पल्टियो, लाइफ ज्याकेट लगाएकोले चारजना सहजै जोगिए, तर, वृद्धा महिलालाई भने डुंगाले च्यापेको रहेछ,’ उनले भने। जोशीका अनुसार ती वृद्धाले पनि लाइफ ज्याकेट त लगाएकी थिइन। तर, डुंगामुनि परेर आफै सवार डुुंगाले च्याप्दा उनी पानीमा तैरिन पाइनन। जसले गर्दा बेहोस भएकी थिइन। उनलाई बेहोस अवस्थामै उद्धार गरिएको थियो।  

प्रकाशित: २० फाल्गुन २०७९ १३:०० शनिबार

डुंगा फेवाताल