समाज

आध्यात्मिक विकासका लागि महायज्ञ

अछाम– नेपाली कांग्रेसका महामन्त्री डा. सशांक कोइरालाले समाजमा रहेका सबै खाले विभेद र उत्पीडन अन्त्य गर्न संविधान  कार्यान्वयन गरिनुपर्ने बताएका छन् । अछामको कमलबजार नगरपालिका– ३, बजगाउँमा शुक्रबार श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ उद्घाटन गर्दै कोइरालाले सबै तहमा निर्वाचन नभएसम्म जनताले परिवर्तनको महसुस गर्न नसक्ने धारणा राखे ।
‘पारदर्शी एवं जिम्मेवारीपूर्ण राजनीतिबाट समस्याको समाधान खोज्दै अगाडि बढ्नुपर्छ,’ उनले भने, ‘लोकतान्त्रिक क्रियाकलापलाई संस्थागत तथा अलोकतान्त्रिक गतिविधि नियन्त्रण गर्न संविधान कार्यान्वयन गर्नु सबैको दायित्व हो ।’

अहिलेको संविधान ‘उत्कृष्ट’ भएकाले स्थानीय तहदेखि नै कार्यान्वयनका लागि दबाब दिनुपर्ने उनको भनाइ छ ।  
माण्डव्य बजगाईं प्रतिष्ठानका अध्यक्ष राजेन्द्र बजगाईंको अध्यक्षतामा भएको कार्यक्रमका विशिष्ट अतिथि नेकपा एमाले सचिव प्रदीप ज्ञवालीले राष्ट्रिय हितका लागि संविधान कार्यान्वयन गर्न असन्तुष्ट पक्षलाई समेत साथ लिएर अघि बढ्नुपर्ने विचार राखे । ‘संविधान कार्यान्वयनको चुनौती सबै पार्टीको काँधमा छ । पार्टीहरूले सहमति अनुसार जिम्मेवारी पूरा गर्नुपर्छ,’ ज्ञवालीले भने ।  
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद चन्द्र भण्डारीले देशलाई अग्रस्थानमा पु¥याउन असल नेतृत्व आवश्यक रहेको बताए । नेपाली सेनाका पूर्वप्रधानसेनापति रुक्मांगद कटवालले नेपाललाई हिन्दू राष्ट्र कायम गरिनुपर्ने माग गरे ।  कार्यक्रममा नागरिक दैनिकका प्रबन्ध निर्देशक विनोद ज्ञवाली उपस्थित थिए ।

श्री जाल्पादेवी र मष्टावण्डाली देवताको पवित्र भूमिलाई आध्यात्मिक, धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने तथा गुरुकुल सञ्चालन गर्ने उद्देश्यले बजगाईंहरूको उद्गम स्थलमा महायज्ञ लगाइएको आयोजकको भनाइ छ । महायज्ञको पहिलो दिन विश्व अधिकारीले १० लाख रुपैयाँ दान दिएका थिए । उद्घाटन सत्रको सञ्चालन माण्डव्य बजगाईं प्रतिष्ठानका महासचिव मीठाराम शर्मा बजगाईंले गरेका थिए । सुशील शास्त्री  प्रमुख वाचक रहेको यज्ञ कात्तिक २५ गतेसम्म चल्ने आयोजकले  जनाएका छन् ।  
 

प्रकाशित: २० कार्तिक २०७३ ०३:४९ शनिबार

आध्यात्मिक विकासका लागि महायज्ञ