काठमाडौंको बाँसबारीबाट घरतिर फर्किंदै थिएँ। बाटामा एउटा सानो कदका मान्छे लुरुलुरु हिँडिरहेको देखें। उनमा शारीरिक अशक्तता थियो। अलि पर पुगेपछि मनमा खुल्दुली भयो, ती मान्छे को होलान् भनेर। स्कुटर घुमाएँ र छेउमा पुगेर बोलाएँ, ‘सुन्नुस् त, तपाईं कहाँ जाने हो? तपाईंलाई गन्तव्यमा पु्र्याइदिन सक्छु?’ उनले मेरो प्रस्ताव स्विकारे। उनलाई स्कुटरमा राख्न मेरा हातहरू सहयोगी भएर स्वतःस्फूर्त रूपमा अघि बढे। मेरो सहारामा उनी सहजै स्कुटरमा बसे।
स्कुटर गुड्दै गर्दा उनीसँग नबोलिरहन सकिनँ। नाम सोधें। उनी बोल्दै गए, ‘नाम सागर सुनार विश्वकर्मा, घर कास्कीको मादी गाउँपालिका–११ मकैखोला, तासे गाउँ। ’साँझको बेला थियो। राम्रोसँग अनुहार देखेकी थिइनँ। मनका खुल्दुली मेटाउन प्रश्नमाथि प्रश्न थुपारें, ‘तपाईं मेरो भाइ हुनुहुन्छ होला है? अनि कति फिटको हुनुहुन्छ?’ जवाफपछि थाहा भयो, उनी २९ वर्षका रहेछन् र उचाइ ३ फुट ७ इन्च। ‘ए!मेरो दाइ हुनुहुँदो रहेछ,’ मैले भनें, ‘म दाइ भन्छु है?’ उनले हाँस्दै भने, ‘हवस्! मलाई जे भनेर बोलाए पनि केही फरक पर्दैन।’ यो सुनिरहँदा एउटा गम्भीर प्रश्न जन्मियो, ‘बाटामा भेटिएका जोकोहीसँग यस्तो आत्मीयता बढ्छ होला त?’ कुराकानीले निरन्तरता पाइरह्यो। मिठामिठा कुराकानी भए। कस्ता राम्रा मान्छे भेटिए भन्ने भान भयो।
विश्वकर्मा अस्थायी रूपमा बाँसबारी नै बस्दा रहेछन्। ‘बहिनी! तिमीसँग भेटेर एकदम खुसी लाग्यो, आफ्नै घरको परिवारजस्तै गरेर मसँग कुरा गर्न आयौ,’उनले भने, ‘आजभोलिको जमानामा यस्ता राम्रा मान्छे कहाँ भेटिन्छन् र? स्वार्थी मात्र हुन्छन्।’ सन् २०२१ अक्टोबरमा दोलखा रोल्वालिङ भ्यालीस्थित ५ हजार ९२५ मिटर अग्लो रामदुङ हिमालको सफल आरोहण गरिसकेको उनले बताए। ‘सन् २०२२ मा मैले सगरमाथा चढ्ने प्रयास गरें,’ उनले भने, ‘सगरमाथाको चुचुरोमा पुग्ने क्रममा ८ हजार २०० स्थित अन्तिम शिविरको उचाइसम्म पुगेको थिएँ। तर त्यो समयमा प्राकृतिक समस्या भएर चुचुरोमा नपुग्दै फर्किनुपर्याे।’ २१ पटक सगरमाथाको शिखर चुमेका पेम्बा दोर्जे शेर्पाले रोल्वालिङ र सगरमाथा दुवै शिखर चढ्दा साथ दिएको विश्वकर्माले बताए।
‘समयले कैयौं कठिन परिस्थितिको सामना गरे सुनौलो सपनाको सत्मार्गमा पुग्न सकिन्छ,’दार्शनिकझैं उनी गफिए, ‘शारीरिक रूपमा सक्षम र अब्बल हुँदा पनि लक्ष्यहीन मानिसको जीवन व्यर्थ हुन्छ।’ उनी दृढ देखिए, ‘म फेरि पनि सगरमाथा चढ्दैछु, अब चुचुरो चुमेर हिमाल आरोहण गर्ने पहिलो होचा व्यक्तिको विश्व कीर्तिमान राख्नेछु।’ अब सन् २०२४ मा दोर्जे शेर्पा वा लाक्पा शेर्पाको सहायताले सगरमाथा चढ्ने योजना उनले सुनाए। शेर्पाकै साथले रामदुङ हिमालको आरोहण गरेका उनलाई सगरमाथा चढ्न परिवार र साथीभाइको ठुलो साथ रहेछ। ‘मलाई परिवारको राम्रो साथ मिलेको छ,’ उत्साहित हुँदै उनले भने, ‘मैले हिमाल चढ्ने आँट गरेको देखेर चिनेजानेकाले आर्थिक सहयोगसमेत गरे।’
सगरमाथा चढ्न ठुलै आर्थिक सहायता चाहिने र कहाँबाट जुटाउने भन्ने चिन्ता रहेको विश्वकर्माले बताए। सगरमाथा आरोहणको खास उद्देश्य आफूजस्तो शारीरिक रूपमा अशक्त र होचा–पुड्काले पनि सगरमाथा चढ्न सकिन्छ भन्ने सन्देश दिनु रहेको उनको भनाइ थियो। ‘मजस्ता होचा–पुड्काले केही गर्न सक्दैनन् भन्ने सोचाइ हाम्रो नेपाली समाजमा छ। हामीलाई नराम्रो दृष्टिले पनि हेरिन्छ,’ उनले थपे, ‘त्यसैले होचा–पुड्का साथीहरूमा हौसला र आत्मविश्वास बढाउन मैले फेरि पनि हिमाल चढ्ने साहस गरेको हुँ।’
छिनभरमा आफ्नो योजनाका पोकाहरू फुकाउन भ्याए। विश्वको सर्वाेच्च शिखर सगरमाथा चुम्ने लक्ष्य राखेका विश्वकर्मा त्यस्तो सफलता हासिल गर्ने विश्वकै पहिला होचा–पुड्का व्यक्तिको कीर्तिमानी उनकै नाममा दर्ता हुनेछ। १० वर्षअघिसम्म सुनपसलमा काम गर्ने क्रममा एक्कासि घाँटीको मूल नसा च्यापिएपछि उनको शरीर नचल्ने भयो। उनी औषधि खाँदै हिँड्ने गर्दा रहेछन्। ‘मेरो जिन्दगी भनेकै औषधि हो,’ उनले भने, ‘मलाई आजसम्म औषधिले नै बचाइराखेको छ। कक्षा ५ पढ्दादेखि नै बिरामी हुन थालें। रोग अझै ठिक भएको छैन। हड्डीको समस्याले जिउ पुरै काम्छ।’बाँचुन्जेल विश्वसामु आफूलाई चिनाउन लागिरहने उनले बताए।
‘हिमाल कसले चढ्छ?’ भन्ने सवाल उठ्यो भने जवाफमा एउटा विम्ब आउँछ, ‘हिम्मतिलो, साहसिक, शारीरिक रूपमा सशक्त।’अझ भनौं, शेर्पा समुदायका मानिसहरू। विश्वकर्मा त्यो प्रचलित जवाफ बदल्न चाहन्छन्। जसमा आँट र आत्मविश्वास हुन्छ, उसैले हिमाल चढ्न सक्छ भन्ने मानक स्थापित गर्ने ध्याउन्नमा उनी छन्। उनकी दिदी उर्मिला सुनार र पर्वतारोही कान्छीमाया तामाङ घनिष्ठ मित्र भएका कारण हिमाल चढ्ने अवसर पाएको उनले बतए। एकदिन कान्छीमायाले उर्मिलासँग शारीरिक रूपमा फरक क्षमता भएका मानिसहरूले पनि हिमाल आरोहण गरिरहेको उनले सुनाइन्। त्यसलगत्तै उर्मिलाले सागरलाई हिमाल चढ्न उत्प्रेरणा दिएकी थिइन्।
‘सबै कुरा ठिकै थियो, शरीरि अशक्तताका कारण साह्रै गाह्रो भयो,’उनले आरोहणको सास्ती सुनाए, ‘हिउँमा हिँड्ने क्रममा खुट्टाको सन्तुलन नमिल्दा निकै पीडा भयो। अरूले नदेख्ने गरी धेरै रोएँ। जब रामदुङको चुचुरोमा पुगें, सबै पीडा भुलें।’यसरी उनको कुरा सुनिरहँदा लाग्यो, उद्देश्य लिनु नै गौरवको कुरा हो। महाकवि लक्ष्मीप्रसाद देवकोटाले पनि लेखेकै छन्, उद्देश्य के लिनु उडी छुनु चन्द्र एक।
प्रकाशित: २० फाल्गुन २०७९ ०१:०० शनिबार