समाज

अापसी सद्भाव र सहअस्तित्वको पर्व छठ मनाइँदै

छठ पर्वका लागि सिँगारिएको वीरगन्जको घडीअर्वा पोखरी ।

वीरगन्ज– ‘नौ वर्षअगाडि आमालाई असाध्य रोग लागेपछि सन्चो होस् भनी भाकल गरेर छठ व्रत बस्न सुरु गरेकी हुँ, आमा स्वस्थ हुनुभयो, मैले व्रतलाई निरन्तरता दिएँ, गर्दै जाँदा अब के विश्वास लागेको छ भने यो पर्व धार्मिक आस्था र विश्वासमा मात्र सीमित छैन, यसको सामाजिक र वैज्ञानिक पाटो सबभन्दा महत्ववपूर्ण छ,’ वीरगन्ज १५ की लक्ष्मी खरेलले भनिन्, ‘अरु बेला खासै प्रयोगमा नल्याइने वनस्पति र सामग्रीलाई यस बेला महत्वव दिई खोजेर ल्याइन्छ । मानिसबीच पनि गजबको सद्भाव देखिन्छ, को तल्लो को माथिल्लो भन्ने पनि रहँदैन । यसैले पनि म छठबाट प्रभावित भएकी हुँ ।’

छठ विशुद्धरुपमा प्रकृति र पुरुषको पूजा हो । सन्तान उत्पादनका लागि दैवी कृपाको अपेक्षा यस व्रतसँग जोडिएको छ

चलनचल्तीको बुझाइमा खरेल थरले गर्दा लक्ष्मीलाई मधेसी समुदायमा गनिँदैन तापनि पहाडी मूलका उनीजस्ता अनगिन्ती व्रतालु र श्रद्धालु तराई मधेसको यस पर्वमा सामेल छन् । जसले गर्दा यो पर्व समुदाय विशेषको मात्र नभएर साझा मिलनविन्दु बनेको छ । तयारीदेखि समापनसम्म छठले सबै समुदाय र जातजातिलाई एउटै आचरण र व्यवहारमा सूत्रबद्ध गरेको हुन्छ ।
तिहारलगत्तै छठ पूजाको उत्सव धुमधामसाथ सुरु हुन्छ । कात्तिक शुक्ल पक्षको चौथी तिथिमा छठ पूजाको व्रत आरम्भ हुन्छ । पहिलो दिन विधिपूर्वक नुहाएर खाने चलन छ, जसलाई भोजपुरी भाषामा ‘नहाए–खाएके दिन’ भनिन्छ । यसपटक शुक्रबार यो विधि पूरा गर्दै व्रतालुले छठ पर्व सुरु गरेका छन्  । यस दिन व्रतालुले नुहाएर पवित्र भई शुद्ध सात्विक भोजन गर्छन् । शनिबार ‘रसियाब रोटी’ खाएर ३६ घन्टे निर्जला उपवास सुरु हुन्छ । आइतबार जलाशय किनारमा सामूहिक पूजापछि अस्ताउँदो सूर्यलाई अर्घ दिई मनाइने छठ सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि समापन हुन्छ ।

‘जातीय, सामाजिक र सामुदायिक सद्भावमा छठको विशेष भूमिका पाइन्छ । छठको सबभन्दा महŒवपूर्ण पक्ष, यसले सबैलाई समाहित गर्छ, सदाचारले आपसी मेलमिलापयुक्त वातावरण बनाउँछ र समाज यस अवसरमा जातीय विभेदरहित हुन्छ,’ ठाकुरराम बहुमुखी क्याम्पसका उपप्राध्यापक एवं संस्कृतिविद् डा. विश्वम्भर शर्माले भने, ‘जातीय भेदभाव, छुवाछूत, उचनिचको भावना छठमा सकिएर जान्छ ।’ कुलीन भनिएको परिवारका बुहारीले छठको आशीर्वादस्वरुप प्रसादका निम्ति थापेको आँचलमा कुनै दलितको अर्घको ठेकुवा आए पनि सहर्ष स्विकार्ने उनले बताए । छठमा प्रायः महिलाले व्रत बस्छन् भने पुरुषले उनीहरूको पूजा सामग्री भएको ढक्की (दउरा) टाउकोमा बोकेर घरबाट छठघाट र घाटबाट घरसम्म लाने ल्याउने गर्छन् । छठको अवसरमा समाजको पुरुषप्रधान चरित्र पनि स्थगित रहने शर्माको बुझाइ छ ।

हाम्रो सामाजिक संरचनामा दलित र अछूत मानिएका समुदायले बनाउने ढिक्की, डागरा (नाङ्लो), सुपली छठमा नभई हुँदैन । कुमालेले बनाउने माटोका भाँडाकुँडा पनि नभई हुँदैन । प्रकृतिमा भएका हरेक वस्तुको महŒव छ भन्ने मान्यता छठसँग जोडिएको शर्माले बताए । ‘सुथनी, साठी धान, बिमिरो, अदुवा, बोडी, फर्सी र उखुजस्ता प्रसाद यसैका उदाहरण हुन् । जीव र प्रकृति एकअर्कासँग अद्वैत छन् भन्ने यसले जनाउ दिन्छ,’ शर्माले भने, ‘यसमा सूर्यको पूजा गरिन्छ जो जीव, वनस्पति दुवैको अस्तित्वको कारक हो ।’

यस पर्वमा कलाको पनि त्यत्तिकै महŒव रहेको शर्माले बताए । उनले भनेजस्तै ठेकुवा बनाउने अर्घउती (साँचा) मा मयूर, फूल, सूर्य, चन्द्र, तारा आदिको बुट्टा बनाइएको हुन्छ । माटोको हात्तीदेखि चौमुखसम्म र बाँसका अनेक सामानमा कला देख्न पाइन्छ । ‘उदाउँदोको मात्र होइन, अस्ताउँदोको पनि त्यत्तिकै महŒव छ, कस्ट सहेर अनि रातभरि कुरेर भए पनि प्रतीक्षा गर ! जीवनमा सूर्य अवश्य नै उदाउँछ भन्ने सन्देश छ छठमा,’ शर्माले छठसँग जोडिएको जीवनदर्शन प्रस्ट्याए ।
केही दिन यता वीरगन्जमा दुईदर्जनभन्दा बढी छठघाट सजाउने काममा पूजा समिति बनाएर स्थानीय जुटेका छन् । यो वर्ष यहाँका विभिन्न घाटमा गरेर ५० हजार व्रतालुले व्रत गर्ने अनुमान गरिएको छ ।

छठको विधि

धर्मबारे लेख्ने स्तम्भकार उमाशंकर द्विवेदीका अनुसार यस व्रतका विधि कठिन छन् । भोजनमा मासुसँगै लसुन र प्याज सेवन वर्जित हुन्छ । पञ्चमीको दिन बेलुकी माटाको नयाँ र चोखो चुलोमा आँपको दाउरा बालेर अगहनीको चामलमा गुड (भेली) हालेर ‘रसियाब’ र चोखो पारिएको गहुँको पिठोको रोटी पकाइन्छ । दिउँसोभरि निराहार बसेका व्रतालुले ‘रसियाब रोटी’ लाई पूजा गरी अग्नि तथा गाईलाई अग्रासन (पहिलो अंश) दिएपछि खान्छन् । यसलाई प्रसादको रुपमा घरपरिवारले खाने र छठपूजाका व्रतालु नभएका परिवारलाई प्रसादस्वरुप बाँड्ने समेत गरिन्छ । विवाहिता महिलाले नाकमाथिदेखि निधार हुँदै पूरा सिउँदोभरि सिन्दुर लगाएका हुन्छन् ।

‘रसियाब रोटी’ ग्रहण गरेपछि ३६ घन्टे निराहार र निर्जला तपस्या सुरु हुन्छ । षष्ठीको दिन निराहार र निर्जला बसेका व्रतालु साँझपख ‘छठीघाट’ भनिने जलाशय वा नदीकिनारमा ‘सिरसोप्ता’ माताको पूजाआजा गरी पश्चिम फर्केर अस्ताउँदो सूर्यलाई अर्घ दान गर्छन् । बोलीचालीमा ‘सँझिया घाट’ भनिने यस बेलाको पूजा सकाएर व्रतालु सपरिवार घर फर्किन्छन् । भाकल गरेकाहरू रातिमा घरको आँगनमा ‘कोसी भर्ने’ गर्छन् । नौवटा उखु टुप्पातिर एकसाथ बाँधी जरोलाई फैलाएर ‘पिरामिड’ आकार बनाइन्छ । यो काम सधवा पुरुषले गर्छन् । उखुको जरामा माटाको ‘ढकना’ मा ठेकुवा, अदुवा, केरा, पानीमा भिजाएको केराउ, फर्सीको चानो, मुला, निबुआ, अरिपन चढाएर राखिन्छ । यी छठमा चढाइने मुख्य सामान हुन् । केन्द्रमा माटाको कलशमा पनि यिनै सामान राखिन्छ । उखुका टुप्पा बाँधिएको ठाउँमा पनि यिनै सामग्री कपडामा बाँधेर ‘चँदोवा’ झुन्ड्याइन्छ । माटोको दियोले झलमल पारिएको यस्तो ‘कोसी’ को वरिपरि बसेर व्रतालुका साथै अरु महिलाले छठीमाताको आराधना गीत राति अबेरसम्म गाउने गर्छन् । रातको तेस्रो प्रहरमा व्रतालुहरू पवित्र भई फेरि छठीघाट कुर्न जान्छन् । यहाँ पनि चल्छ आराधना गीत । बिहान ‘सिरसोप्ता’ को पूजापछि सूर्योदयको साइतमा छठीघाटको पानीमा पूर्व फर्केर उदाउँदो सूर्यलाई अर्घ दिन्छन् र घर फर्किन्छन् ।

द्विवेदीका अनुसार छठ विशुद्धरुपमा प्रकृति र पुरुषको पूजा हो । सन्तान उत्पादनका लागि दैवी कृपाको अपेक्षा यस व्रतले गर्छ । झट्ट हेर्दा यो सूर्यको पूजाझैं देखिए पनि पुराणअनुसार यो मूल प्रकृतिको छैटौं अंशबाट उत्पन्न भएकी भगवती षष्ठी देवीको पूजा हो ।

 

प्रकाशित: २० कार्तिक २०७३ ०१:४५ शनिबार

अापसी सद्भाव सहअस्तित्वको पर्व छठ मनाइँदै