समाज

विराटनगरमा ‘कोसी’ प्रदेश नामविरुद्ध प्रदर्शन

प्रदेशको नाम ‘कोसी’ राखेकोमा पहिचानवादी संघसंस्थाले विरोध गरेका छन्। उनीहरुले पहिचानसहितको नामाकरण हुनुपर्ने माग राख्दै शुक्रबार विराटनगरमा विरोध प्रदर्शन गरेका हुन्।

पहिचानवादी संघसंस्थाहरु लिम्बुवान, किराँत संयुक्त संघर्ष समितिले विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय नजिक विरोध प्रदर्शन गरे। उनीहरुले ‘कोसी’ प्रदेश नाम खारेज गर्दै लिम्बुवान–किरात नामाकरण गरिनुपर्ने माग राख्दै आन्दोलनमा उत्रेका हुन्। प्रदेशको नामाकरण पहिचानसहितको नराखे देशभरि आन्दोलन गर्ने उनीहरुले चेतावनी दिएका थिए।

पहिचानवादीहरु एक हौं, मुख्यमन्त्री हिक्मतकुमार कार्की मुर्दावाद, कोसी प्रदेश मान्दैनौं, पहिचानविरोधी प्रदेशसभा सदस्य मुर्दावाद लगायतका नारा लगाएका थिए। प्रदेशसभाबाट फागुन १७ गते दुई तिहाइभन्दा बढी सदस्यले प्रदेशको नाम ‘कोसी’ मा मतदान गर्दै बहुमतले नाम पास गरेका थिए।

प्रकाशित: १९ फाल्गुन २०७९ १३:०६ शुक्रबार