पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित किस्ती पुलमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन्।
बिहिबार दिउँसो १२ बजेतिर पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १ ख २२८३ नम्बरको बसले पूर्वबाट पश्चिमतर्फ जाँदै प्रदेश १–०२–०४३ प ३२४३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीले जानकारी दिए।
बसको ठक्करबाट मोटरसाइकलको पछाडि सवार सुन्दरहैँचा–६ का अन्दाजी ६५ वर्षीय उमाकान्त कोइरालाको मृत्यु भएको प्रहरी निरीक्षक कार्कीले बताए।
मोटरसाइकल चालक अन्दाजी ३५ वर्षीय नवीन भन्ने थमप्रसाद कोइरालाको नाकमा चोट लागेको छ। मोटरसाइकल चालक र पछाडि सवार दुवै जना बसको ठक्करबाट घाइते भइ उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल भर्ना भएका थिए। बुवा उमाकान्तको उपचारका क्रममा शुक्रबार बिहान १ बजे ३० मिनेटतिर मृत्यु भएको र छोरा नवीनको अवस्था सामान्य रहेको हुँदा उपचार भइरहेको ट्राफिक प्रहरीले जनाएको छ । दुर्घटनापछि बस, बस चालक बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गका ४९ वर्षीय नरबहादुर मगरलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको प्रहरीले जनाएको छ।
प्रकाशित: १९ फाल्गुन २०७९ ०७:३४ शुक्रबार