समाज

रनिङ सिल्डबाट फर्किएका विद्यार्थीमाथि आक्रमण, तीन जना घाइते

गए राती राष्ट्रपति रनिङ सिल्डबाट फर्किएका विद्यार्थी माथि आक्रमण भएकाे छ। सिल्ड सक्काएर घर फर्किने क्रममा बुढीनन्दा नगरपालिकाका विद्यार्थी माथि आफ्नै पालिकामा आक्रमण भएकाे हो।

बुढीनन्दा नगरपालिका ७ का केही स्थानीयले पालिकाको ७ र ८ को सिमाना क्षेत्र रहेको स्थानमा गाडी रोकेर आक्रमण गरेको पालिकाले बताएको छ। सँगै खेलमा सहभागी विद्यार्थीबीचको सामान्य विवादको विषयलाई लिएर स्थानीयले ढुंगा, लाठी सहित गाडी रोकेर सामूहिक आक्रमण गरेको खेल प्रशिक्षक सुरेन्द्र रोकायाले बताएका छन्।

आक्रमणबाट विद्यार्थी प्रशान्त शाही, साजन विक र जीवन रोकाया गम्भीर घाइते भएका छन्। भने एक दर्जन बढी विद्यार्थीलाई सामान्य चोट लागेको प्रहरीले बताएको छ। गम्भीर घाइते तीनै जना विद्यार्थीलाई थप उपचारका लागि नेपालगञ्ज लगिएको छ। शाही जनप्रकाश माविका अध्ययनरत छन्। भने रोकाया र विक सुजन बोडिङ्गमा अध्ययन गरिरहेका छन्।

बाजुराको खप्तड छेडेदह गाउँपालिका ७ स्थित दशरथ माविको खेल मैदानमा सम्पन्न रनिङ सिल्डमा एउटै पालिकाका सहभागी विद्यार्थी बीचको भना भनलाई लिएर अभिभावकले सामूहिक आक्रमण गरेको बताइएको छ। आक्रमणमा संलग्न भनिएका बम शाही, धर्मशिला शाही, राजबहादुर शाही, सागर बोहरा, केशर बुढा, ईश्वर विष्टका नाममा किटानी जाहेरी दर्ता गरिएको छ।

किटानी जाहेरीमा नाम उल्लेख गरिएका बम शाही र केशर बुढा कक्षा ९ मा अध्ययनरत विद्यार्थी हुन्। बम शाहीकै कुरा सुनेर स्थानीयले सामूहिक आक्रमण गरेको आरोप घाइते पक्षको छ। किटानी जाहेरीमा नाम परेका धर्मशीला शाही र राजबहादुर शाही बम शाहीका आमा बुबा हुन्।

कसैको कुरा नसुनेर एका एक विद्यार्थी माथि आक्रमण गर्नु पर्ने र त्यसैका लागि सिंगो गाउँ नै निस्किनु पर्ने कारण नै थिएन, जे भयो त्यो गल्ती भएको छ, गल्ती गर्नेले सजाए भोग्नु पर्ने भन्दै उजुरी गरिएको घाइतेका आफन्तले बताएका छन्।

'रातीको बीचमा गाडी रोकेर बालबालिका माथि आक्रमण गर्नु नै बाल अपराध हो, जो भए पनि कारबाही गर्नु पर्ने बुढीनन्दा नगरपालिकाका नगर प्रवक्ता जंगवीर रोकायाकाे भनाइ छ। बुढीनन्दाका विद्यार्थी माथि खेल सञ्चालन स्थल दशरथ मावि नजिकै बास बसिरहेकै स्थानमा समेत बडीमालिकाका विद्यार्थीबाट ढुङ्गा प्रहार भएको थियो।

प्रकाशित: १७ फाल्गुन २०७९ १३:५५ बुधबार