समाज

विराटनगरमा केवल तारको व्यवस्थापन गरिंदै

विराटनगर महानगरपालिकाले नगर क्षेत्रमा जथाभावी लत्रिएका केवल र नेटका तार व्यवस्थापन गर्न थालेको छ। विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित, उज्यालो र विकसित बनाउने महानगरको अभियान अन्तर्गत तार व्यवस्थापनमा तीव्रता दिइएको हो।

महानगरपालिकाको निर्देशनपछि केवल तथा नेटप्रदायक कम्पनी आफैं तारको व्यवस्थापनमा जुटेका छन्। गत पुस २८ गतेदेखि तार व्यवस्थापन थालिएको थियो। तार व्यवस्थापनका लागि महानगरप्रमुख नागेश कोइराला, उपप्रमुख शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाको उपस्थितिमा सम्बन्धित कम्पनीका प्रतिनिधिलाई राखेर महानगरले पटकपटक बैठकसमेत राखेको थियो।

विभिन्न चरणका बैठकको निर्णय अनुसार तार व्यवस्थापन भइरहेको प्रमुख प्रशासकीय अधिकृत कोइरालाले बताए। म्याक्स, सुविसु, वर्ल्डलिंक, भाइनेट, नेपाल टेलिकम लगायत कम्पनीले तार व्यवस्थित गरिरहेका छन्। चैत मसान्तभित्र सबै तार व्यवस्थापन गरिसक्ने कोइरालाले बताए। रासस

प्रकाशित: १७ फाल्गुन २०७९ ०४:४८ बुधबार

तार व्यवस्थापनमा तीव्रता