समाज

सिद्धबाबा सुरुङ मार्गको प्रारम्भिक निर्माण सुरु

सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्डमा सिद्धबाबा सुरुङमार्ग निर्माणका लागि प्रारम्भिक काम सुरु भएको छ।

सुरुङ मार्ग निर्माणको काम सुरु गर्नु पूर्व आवश्यक पर्ने संरचना, बाइपास सडक निर्माणको काम शनिबार देखि सुरु भएको भएको छ। बाइपास सडक निर्माणकालागि सो क्षेत्रमा दैनिक ८ घण्टा सडक बन्द गरेर निर्माणको काम अगाडी बढाइएको सडक डिभिजन कार्यालय बुटवलका प्रमुख होम बहादुर एसीले बताए।

सिद्धबाबा क्षेत्रको रामापिथेकस पार्क तथा तिनाउ जलविद्युतको ड्याम माथिबाट डाइभर्सन बनाउन सुरु गरिएको छ। त्यसकालागि बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म र राती १० देखि बिहान ३ बजेसम्म बुटवल–झुम्सा सडक खण्डमा सवारी आवागमन बन्द गरिएको छ। 

सडकमा डाइभर्सनको काम चलिरहँदा ढुङ्गा माटो खस्न सक्ने र सवारी दुर्घटनाको जोखिम बढ्न सक्ने भएकाले यही फागुन १३ गतेदेखि २७ गते सम्म दैनिक ८ घण्टा सडकमा आवागमन बन्द गरिएको सिद्धबाबा सुरुङ मार्ग आयोजनाले जनाएको छ।

सडक बन्द हुँदा पाल्पाबाट आउने सवारी साधनलाई झुम्सा, दोभान क्षेत्रमै र बुटवलबाट जानेलाई चिडीयाखोला तर्फ नै रोकेर व्यवस्थापन गरिएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ।

सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक अन्तर्गत बुटवलको तल्लो सिद्धबाबा देखि पाल्पाको दोभान चौकी सम्मको करिब ३ किलोमिटर सडक क्षेत्र अत्यन्तै जोखिमयुक्त क्षेत्र हो। किनकि यो क्षेत्रमा हिउँद वर्षा, बाह्रै मास पहिरोको जोखिम हुन्छ।

वर्षामा सिद्धबाबाको भिरबाट खस्ने बडेमानका पहाड जत्रा ढुङ्गाले कयौँ दिन बाटो अवरुद्ध हुन्छ। यात्रुहरू घण्टौँसम्म जोखिम क्षेत्रमै सडकमा अलपत्र पर्छन्। तीनै ढुङ्गाले च्यापेर थुप्रै सवारी साधन पुरिएका छन्। पहिरोमा परेर कयौँले ज्यान गुमाएका छन्। सयौँ मानिस अंगभंग भएका छन् भने करोडौँको सम्पत्ति नास भएको छ।

सिद्धबाबा क्षेत्रको पहिरोबाट भइरहेको धनजनको क्षति रोक्नका लागि सिद्धबाबा सुरुङमार्ग निर्माण गर्न लागिएको हो।

सुरुङमार्ग निर्माणकालागि चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्परेसनले एक वर्ष अघि नै ठेक्का सम्झौता गरेको थियो। १ हजार १२६ मिटर लम्बाइको सुरुङमार्गकालागि ७ अर्ब ३४ करोड २१ लाखमा चाइना स्टेटले सम्झौता गरेको हो।

सम्झौता अनुरूप पाँच वर्षमा सुरुङ मार्ग बनाइसक्नु पर्ने छ। तर सम्झौताको करिब एक वर्ष भने सुरुङको डिजाइन फाइनल गर्दा नै बितिसकेको छ। कम्पनीले सम्झौता अनुसार डीपीआरको काम सकेर सडक विभागलाई बुझाइसेकाले स्वीकृत भएपछि सुरुङको काम सुरु हुने आयोजनाले जनाएको छ।

सम्झौता अनुरूप काम भए अबको चार वर्षमा सिद्धबाबामा सुरुङ मार्ग बन्ने छ। अहिले निर्माण कम्पनीले पूर्व तयारी स्वरूप डाइभर्सन सडक सँगै आधार स्थल बनाउने काम पनि थालेको सडक डिभिजन कार्यालय बुटवल प्रमुख एसीले बताए।

त्यस्तै साइट क्लियरेन्स, गुणस्तर मापनका लागि आवश्यक पर्ने ल्याब इन्स्टल गर्ने, क्रसर प्लान्ट बनाउने जस्ता पूर्व तयारीका कामहरू सुरु गरेको उनले बताए।

यसअघि स्वीस कम्पनीले गरेको एक अध्ययनले सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्डको तल्लो सिद्धबाबा देखि दोभान चौकी सम्मको करिब ३ किलोमिटर सडक क्षेत्र अत्यन्तै जोखिमयुक्त रहेको निष्कर्ष निकालेको थियो।

स्वीस कम्पनीले गरेको अध्ययन प्रतिवेदन अनुसार नै सिद्धबाबामा सुरुङ मार्ग निर्माण गर्ने गरी गत वर्ष ग्लोबल टेण्डर आव्हान गरिएको थियो। जसको ठेक्का चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्परेसनले पाएको हो।

सम्झौता अनुरूप पाल्पामा पर्ने माथिल्लो सिद्धबाबा देखि रुपन्देहीमा पर्ने तल्लो सिद्धबाबा सम्मको १ किलोमिटर १२६ मिटरको सुरुङ बन्नेछ। सुरुङ सुरु हुनु अगाडी ,पछाडि अर्थात् बुटवल र पाल्पा दुवैतर्फको जोखिम युक्त सडक मध्ये ७८० मिटरको डबल लेन रक सेड, बाँकीमा माथिल्लो भागमा रक नेट, स्लोप प्राटेक्सन लगायतका प्रविधि मार्फत साढे ३ किलोमिटर सडकलाई सुरक्षित बनाउने भनिएको छ।

सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्डले पाल्पा, गुल्मी, स्याङ्जा, बाग्लुङ, पर्वत लगायत लुम्बिनी र गण्डकी प्रदेशका थुप्रै पहाडी जिल्लालाई तराइसँग जोड्छ।

प्रकाशित: १६ फाल्गुन २०७९ १३:४५ मंगलबार