समाज

काग तिहारमा दुलालको काग सम्मेलन

काठमाडौं- कलाकार रमेश दुलालले कागतिहारको अवसरमा काठमाडौंमा काग सम्मेलन गरेका छन् । उनले बिहीबार रत्नपार्कस्थित शान्तिवाटिकामा १३औं पटक काग सम्मेलन गरेका हुन् । राष्ट्रिय संगीतकर्मी संघको अगुवाइमा भएको काग सम्मेलनमा दुलालले मुखबाट कागको आवाज ‘काँ–काँ’ निकालेपछि रत्नपार्कवरपरको आकाशमा सयौं काग भेला भएका थिए । उनको काग बोलाउने कला हेर्न सयौं दर्शक झुम्मिएका थिए ।

‘कागले आपत्विपत्मा पर्दा निकाल्ने आवाज निकाल्यो भने काग भेला हुन्छन्’, उनले थपे, ‘सांकेतिक भाषामा उनीहरूलाई आइज भन्ने हो अनि आउँछन् ।’

२०६० सालदेखि काग तिहारका दिन कागको आवाज निकालेर काग सम्मेलन गर्दै आएको उनले बताए । यसपटकको काग सम्मेलनमा साउन्डसिस्टमले धोका दिएकाले धेरै काग भेला गराउन नसकेको उनको भनाइ थियो ।

कलाकार दुलालले एक सय ७३ थरी पशुपक्षीको आवाज निकाल्न सक्ने बताउँछन् । उनले भारतले लगाएको नाकाबन्दीविरुद्ध लैनचौरमा रहेको भारतीय दूतावासअगाडि काग सम्मेलन गरेका थिए ।

सनातन हिन्दु मान्यताअनुसार कागलाई सन्देशवाहक पक्षीका रुपमा लिइन्छ । यमपञ्चकको पहिलो दिन कागको पूजा गरी मिठोमिठो परिकार खुलाएर काग तिहार मनाइन्छ ।

प्रकाशित: १३ कार्तिक २०७३ ०२:४९ शनिबार

काग तिहारमा दुलालको काग सम्मेलन