समाज

बेहुली क्रिस्चियन–बेहुला बाैद्धमार्गी, हिन्दु परम्पराअनुसार विवाह

बिहेपछि तस्बिर खिचाउँदै जानुका र करेल । तस्बिरः जनक केसी

जाजरकोट– भेरीमालिका  वडा नं २ राङसीकी जानुका परियार  र  चेक गणतन्त्रको प्रोस्टेजोभ निवासी करेल ड्रमोलाबीच शुक्रबार  मन्दिरमा  विवहा हुँदा प्रत्यक्षदर्शीहरु दंग परे। जानुकाको परिवार सँग मागेर विवहा गरेका करेल बौद्धधर्मावलम्वी  हुन्  भने जानुका  कट्टर क्रिस्चियन।

भीएसओ नामक गैरसरकारी संस्थाका स्वयंमसेवक करेल र जानुकाको जोडीले  सदरमुकाम खलंगाको कालेगाउँस्थित  शिवालय मन्दिरमा हिन्दु परम्परा  अनुसारको रित पु¥याएर विवहा गरे। जानुकाको परिवारलाई हिन्दु धर्मसँग सम्बन्धित कुनै पनि चाडपर्व र गतिविधि मन पर्दैन भने करेल पनि आफ्नो धर्मप्रति कट्टर नै मानिन्छन्।

क्रिस्चियन भएको हुँदा कहिले पनि रातो रङ र लुगा नलगाउने  जानुका  शुक्रबार भने रातो सारी र चुरा पोतेमा सजिएकी थिइन्। त्यती मात्र होइन, कुनै पनि क्रिस्चियन महिलाले नलगाउने  सिन्दुर पनि उनले लगाइन्। उनलाई करेलले हिन्दु परम्पराअनुसार बनेको विवहाको मण्डपमा पुरोहितको मन्त्र सुन्दै सिन्दुर हाले। सँधै टीसर्ट र पाइन्ट मात्रै लगाउने करेलले पनि  विवहाको बेला नेपाली ढाका टोपी र दौरुवा सुरुवाल लगाएर चिटिक्क परेको बेहुला बने।

शुक्रबार खलंगाको कालेगाउँमा हिन्दू परम्पराअनुसार बिहे गर्दै क्रिस्चियन जानुका र बौद्ध करेल

करेल–जानुकाको जोडीले हिन्दु धर्मअनुसारको पोषाक लगाएर  सवै  रित एवम कर्म पूरा गर्दै बिहे गरे। नेपालका बकरिब अधिकतम नागरिकले हिन्दु धर्म मान्ने गरेको र यस धर्मका विवहालगायत चाडपर्व मान्ने तरीकाहरु  निकै सामाजिक लाग्ने भएकोले आफूले हिन्दु परम्पराअनुसार विवाह गरेको  करेलले बताए। हिन्दु धर्म नेपालीको पहिचान भएकोले  यो धर्मका सस्कारहरु मान्दा आफूलाई आनन्द लागेको उनले बताए।  

‘हिन्दु धर्मका सँस्कारहरुले  मान्छे मान्छेका विचमा आत्मीयता र सम्वन्ध वढाउन सहयोग पुग्ने देखिन्छ,’ उनले भने, ‘त्यसैले यो धर्मको सँस्कारअनुसार आफूले जानुकासँग विवहा गरेको उनले बताए। आफू केही वर्ष नेपालमै बस्ने र आफ्ना छोराछोरीलाई पनि हिन्दु  सँस्कारहरु सिकाउने आफ्नो इच्छा रहेको  करेले बताए।

उता जानुकाले पनि  हिन्दू धर्ममा विवहाको परम्परा मात्र नभई अन्य चाडपर्व र सँस्कारहरुमा निकै सहिष्णुता भएकोले    आफू क्रिस्चियन भए पनि हिन्दु परम्पराअनुसार बिहे गरेको बताइन्। ‘हिन्दु धर्मभित्रको धार्मिक सहिष्णुताले हामी सबै जातजातिका नेपालीलाई सँगै मिलेर बस्न सिकाएको छ,’ त्यसैले मैले हिन्दु परम्पराअनुसार बिहे गरेँ, जानुकाले नागरिकसँग भनिन्। अरुले जे सुकै गरुन् तर म हिन्दु धर्मका राम्रा कुराहरु अनुसरण गर्दै जान्छु जानुकाले भनिन्।’

जानुका र करेललको बिहे एउटा नमुना भएको स्थानीय नेत्रलाल सुनारले बताए। उनले अहिले सवै धर्म र जातका मान्छेहरु नेपालमा मिलेर वस्न सक्छन् भन्ने उहाहरण जानुका र करेलको बिहेले दिएको बताए। एउटा धर्मले अर्काे धर्मलाइ सम्मान गर्ने र एक आपसमा मिलेर वस्ने चलनले नै  नेपालको राष्ट्रियता बलियो हुने  स्थानीय नागरिक अगुवा केशवजंग शाहले बताए ।


 

प्रकाशित: १२ कार्तिक २०७३ १३:४५ शुक्रबार

बेहुली क्रिस्चियन–बेहुला बाैद्धमार्गी हिन्दु परम्पराअनुसार विवाह