समाज

दुई युवतीको उद्धार

लहान—चेलीबबेटी बेचबिखनको आरोपमा सिरहा प्रहरीले दुई महिलासहित तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

दुई युवतीलाई प्रलोभनमा पारी बेचबिखनका लागि भारततर्फ लगिरहेको अवस्थामा सीमा क्षेत्रमा खटिएको प्रहरी टोली तथा साना हात संस्थाका पदाधिकारीले युवतीलाई उद्धार गरी संलग्न तीन जनालाई हिजो साँझ पक्राउ गरेका हुन्। 

पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका–८ निवासी ३५ वर्षीया लक्ष्मी भन्ने दुर्गा विक, सिन्धुलीको दूधौली नगरपालिका– ११ निवासी २९ वर्षीया प्रमिला विक र सिरहाको धनगढीमाई नगरपालिका– २ निवासी ५६ वर्षीय उद्ववबहादुर थापा रहेको प्रहरीले जनाएको छ । 

सिरहा र उदयपुरका दुईजना युवतीलाई बेचबिखनका लागि भारतर्फ लगिरहेको सूचनाको आधारमा साना हात संस्थाका पदाधिकारीको सहयोगमा प्रहरी टोलीले दुबै युवतीको उद्धार गरी दुर्गा र प्रमिलालाई पक्राउ गरिएको सिरहाका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिनुभयो । 

उनीहरुलाई मानव बेचबिखन तथा ओसारपोसार मुद्दा चलाइएको प्रहरी नायव उपरीक्षक कोइरालाले बताए। 

यसैगरी लागु औषध मुद्दामा अदालतबाट कैद सजाय पाएर १६ वर्षदेखि फरार रहेका श्रीचन पासमानलाई प्रहरीले पक्राउ गरेको छ। 

लागुऔषध मुद्दामा जिल्ला अदालत सिरहाबाट २०५६ साल पुस ११ गते १० महिना २८ दिन कैद र रु दश हजार जरिवानाको सजाय पाएर फरार सिरहाको भगवानपुर गाविस– ४ निवासी ४५ वर्षीय पासमानलाई पक्राउ गरेको सिरहा प्रहरीले जनाएको छ । रासस

प्रकाशित: १२ कार्तिक २०७३ ०७:५२ शुक्रबार

दुई युवतीको उद्धार