समाज

७ महिनामै साढे ६ लाख क्युबिक फिट काठ निकासी

चालू आर्थिक बर्ष २०७९/२०८० मा ताप्लेजुङबाट साबिक बर्षभन्दा बढी परिमाणको काठ निकासी हुने देखिएको छ। अघिल्लो आव २०७८/०७९ भरीमा ९ लाख ७९ हजार ४ सय ४५ क्युबिक फिट काठ निकासी भएकोमा चालू आवको को ७ महिनाको अवधिमै साढे ६ लाख बढी क्युबिक फिट काठ निकासी भएको छ। 

डिभिजन वन कार्यालय ताप्लेजुङका नायव सुब्बा युवराज पौडेलका अनुसार चालू आवको माघ मसान्त सम्ममा ६ लाख ६६ हजार ८३०.१० क्युबिक फिट काठ निकासी भएको छ। चालू आर्थिक बर्ष समाप्त भई नयाँ आर्थिक बर्ष सुरु हुन अझै ५ महिना बाँकी रहेको छ। पौडेलका अनुसार चालू आवको साउन महिनामा ४२ हजार ९७१.५८ क्युबिक फिट,भदौमा ४९ हजार ९८८.७८ क्युबिक फिट,असोज महिनामा ६५ हजार ६२०.६३ क्युबिक फिट,कात्तिक ५६ हजार ४१.३३ क्युबिक फिट काठ निकासी भएको छ।

यस्तै मंसिरमा १ लाख ६५ हजार ६१४.७० क्युबिक फिट,पुसमा १ लाख ४३ हजार ५८३.१० क्युबिक फिट र माघ महिनामा १ लाख ४३ हजार ९.८९ क्युबिक फिट काठ निकासी भएको छ। अघिल्लो आवको निकासी परिमाणलाई हेर्ने हो भने फागुन,चैत,बैशाख र जेठ महिनामा बर्षभरीकै सबैभन्दा बढी काठ निकासी भएको छ। असार महिनामा साबिककै हाराहारी दरले मात्र काठ निकासी भएमा पनि चालू आर्थिक बर्षमा अघिल्लो आव भन्दा बढी परिमाणको काठ निकासी हुने स्थिति देखिएको छ। 

काठ निकासी मूल्य अभिवृद्धि कर बापत डिभिजन वन कार्यालयले चालू आवमा २ करोड ६० लाख,३ हजार ५ सय ९६ रुपैयाँ असुल गरेको छ भने प्रदेश सेवा शुल्क बापत १३ लाख ३६ हजार ३ सय ३९ रुपैयाँ असुल भएको डिभिजन वन कार्यालयले जनाएको छ। अघिल्लो आव २०७८/०७९ को एकबर्षे अवधिमा डिभिजन वन कार्यालयले काठ निकासीको मूल्य अभिवृद्धि कर बापत ३ करोड ३१ लाख ६१ हजार २ सय ६१ रुपैंया असुल गरेको थियो। यस्तै सोही अवधिमा प्रदेश सेवा शुल्क बापत १९ लाख ३९ हजार १ सय ७८ रुपैयाँ असुल गरेको डिभिजन वन कार्यालयले जनाएको छ।

डिभिजन वन कार्यालयले आवश्यक प्रकृया पूरा गरी छोड पुर्जी तथा कटान आदेश दिने गर्छ। यहाँबाट सबैभन्दा बढी निजी तथा आबादी जमिनमा रहेको  उतिस प्रजातिको काठ निकासी हुने गरेको छ। यस्तै चिलाउने,मौवा,सिमल,चाँप,कटुस,मलातो, सिरिस, बाङ्गी काठ, पानीसाज,लप्सी सहितका प्रजातिको काठ निकासी हुने गरेको छ। उतिसको तुलनामा अन्य प्रजातिको काठको निकासी कमै मात्र हुने गरेको समेत डिभिजन वन कार्यालयले बताएको छ।

प्रकाशित: १६ फाल्गुन २०७९ ०७:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App