समाज

राजधानी र पूर्वी क्षेत्रमा पहिलो हिउँदे वर्षा

राजधानी काठमाडौं लगायत आसपासका क्षेत्रमा यस वर्षको पहिलो हिउँदे वर्षा भएको छ। यसैगरी गण्डकी, वाग्मती र प्रदेश १ मा आइतबार फरक फरक मात्रामा पानी परेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार अपराह्न कीर्तिपुरमा ९.८ मिलिमिटर, नगरकोटमा १५.२ मिलिमिटर पानी परेकोछ। आइतबार अपराह्न स्याङ्जामा २७ मिलिमिटर पानी परेको थियो भने पूर्वको संखुवासभामा २३.८ मिलिमिटर वर्षा भएको छ।

केही दिनअघि देशका मध्य तथा सदूरपश्चिम क्षेत्रमा हिउदे वर्षा भएकोमा हाल देशमा अन्य प्रदेशमा समेत वर्षा भएको हो। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभागले आगामी २४ घण्टामा प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको र देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको बताएको छ। सोमबार र मंगलवार देशको उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रकाशित: १५ फाल्गुन २०७९ ०२:१३ सोमबार

यस वर्षको पहिलो हिउँदे वर्षा हल्का हिमपातको सम्भावना