समाज

प्रहरी हेडक्वार्टर छेउबाटै २६ लाख सहित १६ जुवाडे पक्राउ

काठमाडौं- प्रहरीले प्रहरी प्रधान कार्यालय नजिक रहेको एउटा होटलबाट  करिब २६ लाख रुपैयाँ नगद र सुनका गरगहना सहित १६ जना जुवाडेलाई सोमबार राति पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त कमलपोखरीले नक्साल भगवती बहालमा रहेको होटल गणपतीमा छापा मारेर ठूलो परिमाणमा रकम र जुवाडेलाई पक्रेको हो।

वृत्तका प्रमुख डिएसपी महेश थापाका अनुसार होटल गणपतीको एउटा कोठामा जुवा खेलीरहेको अवस्थामा दुई महिला सहित १६ जना पक्राउ परेका हुन। उनका अनुसार ब्यवसायीक रुपमा काठमाडौं उपत्यकाका विभिन्न भाग र उपत्यका बाहिरबाट आएका ब्यक्ती समेत खालबाटै पक्राउ परेका हुन। पक्राउ पर्ने महिलामा कमलासिंह ठकुरी र पूर्णिमा थापा रहेका छन्।

‘घटनास्थलमा सुनका गरगहना समेत बरामद भएको छ, होटलमा जन्मदिन मनाउन भनेपनि शंकास्पद गतीविधी देखेपछि हामीलाई खबर भएको थियो,’ डिएसपी थापाले भने। उनका अनुसार पक्राउ पर्नेमा ओम श्रेष्ठ, राजकुमार अधिकारी, जितेन्द्र गजुरेल, कुमार तामाङ, बाबुराम लामा, कृष्ण बस्नेत, दीपक राई,भाई महर्जन, राज तामाङ,फुर्वा लामा, अजय लामा, दिनेश खत्री, बिरु लामा र दिलिप लामा रहेका छन।

प्रहरी टोलीले नगद २५ लाख ६४ हजार  र कौडा १६ थान समेत घटनास्थलबाट बरामद गरेको छ। पक्राउ जुवाडे बिरुद्ध जुवा ऐन अनुसार कारवाही अघि बढेको वृत्तले जनाएको छ।

 

 

प्रकाशित: ९ कार्तिक २०७३ १४:११ मंगलबार

प्रहरी हेडक्वार्टर छेउबाटै २६ सहित १६ जुवाडे पक्राउ