समाज

राजधानीका विद्यालयमा बम विस्फोट गराउने मुख्य योजनाकार पक्राउ

काठमाडौं- प्रहरीले असोज ४ गते उपत्यकाका नौ बिद्यालयमा बम राख्ने संगठनका मुख्य योजनाकारलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले माओवादी कम्युनिष्ट केन्द्रका महासचिव महासचिव केशव दाहाल उर्फ प्रकाश तथा विद्यार्थी संगठनका मीन देवकोटा भन्ने विनोद थापालाई पक्राउ गरेको छ। उनीहरु विद्यालय बम विस्फोट काण्डका योजनाकार हुन्।

परिसर प्रमुख एसएसपी विक्रमसिंह थापाले उपत्यकाका विद्यालमा बम राखेर आतंक फैलाउन कार्यका मुख्य योजनाकार पक्राउ परेको बताए। 'असोज ४ गते काठमाडौं र ललितपुरका विभिन्न विद्यालयमा बम राखेर आतंक मच्चाउने संगठनका मुख्य योजनाकारहरु पक्राउ गर्न प्रहरी सफल भएको छ', उनले भने। पक्राउ अभियुक्तलाई प्रहरीले आजै सार्वजनिक गर्ने तयारी गरेको छ।

उपत्यकालाई केन्द्रमा राखेर धाकधम्की देखाउँदै असुली गर्ने कार्यमा केन्द्रका नेता तथा कार्यकर्ता संलग्न रहेको प्रमाण प्रहरीले फेला पारेको जनाएको छ।

असोज ४ गते विहान तीनबजेर ४० र तीनबजेर ५० मिनेटमा बौद्धक्षेत्रमा रहेका दुई बिद्यालयमा बम बिस्फोट भएको थियो। यस्तै काठमाडौंका आठ र ललितपुरका एक बिद्यालयमा शंकास्पद वस्तु राखिएको थियो। माओवादी कम्युनिष्ट केन्द्र, नेपाल नामक संगठनको भातृ संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी केन्द्र र योङ्ग कम्युनिष्ट फोर्सले शैक्षिक संस्थामा बम राख्ने र बिस्फोट गराएको थियो।

बम राखेर आतंक फैलाउने कार्यमा संलग्न शंकर लाखे र चन्द्रबहादुर तामाङ्गलाई प्रहरीले तत्काल  पक्राउ गरेको थियो। असोज ९ गते सोही अभियोगमा प्रहरीले माओवादी कम्युनिष्ट केन्द्रका मार्नाथ उपाध्यक्ष बिष्णु पौडेल र पोलिटब्युरो सदस्य मुस्ताकिन अन्सारीलाई पक्राउ गरेको थियो।

प्रकाशित: ५ कार्तिक २०७३ ०७:२६ शुक्रबार

राजधानीका विद्यालयमा बम विस्फोट गराउने मुख्य योजनाकार पक्राउ