समाज

भारतमा जोखिमपूर्ण काम गर्न पुगेका बालकको उद्धार

नेपालगन्ज- भारतको एक बाल गृहमा रहेका ३ जना नेपाली बालकलाई उद्धार गरी स्वदेश फर्काइएको छ। भारतको मिज्जफफरपुर जिल्लामा रहेको निर्देशक सञ्चालक रहेको बालगृहमा राखिएका दैलेख निवासी बालकको उद्धार गरिएको हो। दैलेख दुल्लु नगरपालिका वडा नम्बर ९ निवासी १५ वर्षीय टिकाराम पुरी, दुल्लु ८ का १५ वर्षीय सुरज गिरी र सोही ठाउँ का १४ वर्षीय सुन्दर सन्यासीलाई सामाजिक सेवा केन्द्र दैलेखको पहलमा नेपालगन्ज नाका हुदै स्वदेश फिर्ता ल्याइएको हो।

केन्द्रका संस्थापक हिरासिंह थापाका अनुसार गाउँकै आफन्तको प्रलोभनमा एक वर्ष अगाडि टिकाराम र सुरज भारत गएका थिए, भने सुन्दर गत जेठ महिनामा गाउँकै दाई साहिनो पर्ने व्यक्तिसँग भागेर भारत गएका थिए। तीनै जना बालकलाई होटलमा जोखिमपूर्ण काम गरिरहेको अवस्थामा उद्धार गरिएको हो।

एउटै होटलमा काम गर्ने ती बालहरुलाई भारतीय प्रहरीले उद्धार गरी उक्त एक महिना बैंङ्लोर बालगृहमा र त्यस पश्चात बिहार बालगृहमा राखेको बताइएको छ। आफूहरु जस्तै ६ वर्षदेखि १७ वर्ष सम्मका ३२ जना बालकहरु उक्त बालगृहमा रहेको उद्धार गरिएका बालक टिकारामले बताए। मिठो खान पाइन्छ, राम्रो लगाउन पाइन्छ भन्ने प्रलोभनमा परेर आफूहरु भारत गए पनि त्यहाँ कष्टपूर्ण काम गर्नुपर्ने बाध्यता सिर्जना भएको उनको भनाई छ।

भारतीय बाल गृहमा काठमाण्डौं, बीरगन्ज र नेपालगन्ज क्षेत्रका अरु ३२ जना बालकहरु पनि रहेको अधिकारकर्मीले बताएका छन्। उद्धार गरिएका ती बालकलाई जिल्ला बालकल्याण समिति दैलेखमा बुझाएर परिवारको जिम्मा लगाइने केन्द्रका संस्थापक थापाले बताए।

प्रकाशित: ५ कार्तिक २०७३ ०५:५१ शुक्रबार

भारतमा जोखिमपूर्ण काम गर्न पुगेका बालकको उद्धार