समाज

सन्धिखर्क नगरपालिकाद्वार किसानलाई ४६ थान मेसिन वितरण

सन्धिखर्क नगरपालिकाले ४६ थान मेसिन वितरण गरेको छ। व्यावसायिक किसानहरुलाई अनुदानमा डीप फ्रिज, विद्युतीय घाँस काट्ने मेशिन र भकारो सोहोर्ने हाई प्रेसर क्लिनर मेशिन वितरण गरेको नगरपालिकाले जनाएको छ।

किसानका मागको आधारमा किसानलाई ७५ प्रतिशत अनुदानमा ९ थान विद्युतीय घाँस काट्ने मेसिन, ५० प्रतिशत अनुदानमा १९ थान डीप फ्रिज र ५० प्रतिशत अनुदानमा १८ थान भकारो सोहोर्ने हाई प्रेसर क्लिनर मेसिन वितरण गरिएको मेयर कृष्ण प्रसाद श्रेष्ठले जानकारी दिए।

पशुपालनमा लागेका किसानको सहजताका लागि विभिन्न प्रकारका मेसिन वितरण गरेको श्रेष्ठले बताए। ‘गरिखाने किसानलाई समयको बचत हुने भयो,उनले भने,‘ थोरै कामदारबाट धेरै पशुपालन गरी उत्पादन वृद्धि पनि हुने भएपछि नगरपालिकाले सामग्री वितरण गरेको हो।’

सन्धिखर्ककी उपमेयर मिश्रा आचार्यले व्यावसायिक कृषि र पशुपालनमा लागेको किसानलाई नगरपालिकाले सहयोग गर्ने बताइन्। आधुनिक र प्रविधिमैत्री पद्धतिबाट कृषि र पशुपालन गर्दा किसानलाई बढी फाइदा हुने भएकाले विभिन्न प्रकारका मेसिन वितरण गरेको उनको भनाई छ।

कृषि कर्मलाई प्रोत्साहन गर्न बजेट विनियोजन गरी सामग्री समेत वितरण गरिएकोमा आफ्नो पेसामा सहज हुने भन्दै किसान र सरोकारवालाले नगरपालिकालाई धन्यवाद दिए। ‘हाम्रो सहजताका लागी हामीले सामग्रीको माग गरेका थियौँ, किसान बाबुराम पाण्डेले भने,‘ मागका आधारमा नगरपालिकाले डीप फ्रिज, विद्युतीय घाँस काट्ने मेशिन र भकारो सोहोर्ने हाई प्रेसर क्लिनर मेशिन वितरण गरेको छ, असाध्य खुसी भएका छौँ।’

प्रकाशित: १२ फाल्गुन २०७९ ०९:४४ शुक्रबार

सन्धिखर्क नगरपालिका