समाज

विष्फोटक पदार्थसहित संघीय समाजवादी फाेरम नेपालका नेता पक्राउ

विष्फोटक पदार्थसहित पक्राउ परेका भेटेलाई बिहीबार सार्वजनिक गर्दै प्रहरी ।

धरान–भारतबाट ल्याएर लुकाई राखेको रक्तचन्दनसहित ठूलो परिमाणमा अवैध विष्फोटक पदार्थसहित एक व्यक्तिलाई प्रहरीले धरानबाट पक्राउ परेको छ। संखुवासभाको चेपुवा गाविस– ६ स्थायी घर भएका ३८ वर्षीय ङिमा अन्दी भोटेलाई प्रहरीले मंगलबार राति विष्फोटक पदार्थसहित पक्राउ गरेको हो। उनी धरान १५ मा बसोबास गरिरहे पनि विष्फोटक पदार्थ भने धरान ६ स्थित दुर्गा रिजालको घरमा भाडामा लिएको कोठाबाट प्रहरीले बरामद गरेको हो।

गोप्य सुराकीको आधारमा प्रहरीले छापा मारेपछि फुस्रेस्थित कालीबक्स गणबाट गएको सेनाको विशेषज्ञ टोलीले वरादम गरिएको सामग्री विष्फोटक पदार्थ भएको पुष्टि गरेका थिए। पक्राउ परेका भोटे संघीय समाजवादी फोरमको सुनसरी क्षेत्र नम्बर १ का सचिव हुन् भने आदिबासी जनजाति आन्दोलनमा पनि सक्रिय व्यक्ति मानिन्छन् । उनी धरानमा निमा पोङ्सुवा नामले परिचित छन्।

प्रहरीका अनुसार भोटेको साथबाट गन्धक ६१ केजी, सोडा १०९ केजी, नौसागर ४१ केजी, समुन्द्र मन्थन १० केजी र निलोतुथो ६ केजी बरामद भएको छ । साथै, ३ केजी रक्तचन्दन, ६ हजार ९ सय ४० रुपैयाँ र भारु २ हजार पनि बरामद भएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानको क्रममा भोटे यसअघि पनि संखुवासभामा विष्फोटक पदार्थको मुद्दाका फरार प्रतिवादी भएको पनि खुलेको डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए।

उनका अनुसार त्यसबेला विष्फोटक पदार्थसहित संखुवासभामा पक्राउ परेका एक व्यक्तिले भोटेसँग खरिद गरेको बयान दिएका थिए । त्यसपछि संखुवासभा प्रहरीले उनको खोजी गरिरहेको थियो। ‘यी सबै विष्फोटक पदार्थ बनाउन प्रयोग हुने पदार्थहरु हुन्। भारतबाट कसैले ल्याइदिने गरेकोसम्म वयानमा खुलेको छ’, डिएसपी खतिवडाले भने, ‘तर, यहाँबाट कसरी र कस्लाई सप्लाई हुन्छ भन्ने खुल्न बाँकी नै छ।’

स्रोतका अनुसार भोटेले आयात गरेको विष्फोटक पदार्थ संखुवासभा जिल्लामा पठाउने गर्थे । उक्त जिल्लाको उत्तरी भेगमा अत्यधिक मात्रामा वन्यजन्तुको अवैध शिकार हुने गर्छ । वन्यजन्तुको शिकार गर्न भरुवा बन्दुकको लागि वारुद बनाउन भोटेले विष्फोटक पदार्थहरु सप्लाई गर्ने गरेका थिए । प्रतिबन्धित विष्फोटक पदार्थमध्ये गन्धक सुगर मिललाई अनिवार्य चाहिने भएपनि राज्यबाट अनुमति लिएर मात्र उसले आयत गर्न सक्छ। तर, आयात गरेर पनि सेनाले आप्mनै गोदाममा राखिदिने र आवश्यकताअनुसार प्रक्रिया पु¥याएर मात्र सुगर मिललाई उपलब्ध गराउछ । अन्य प्रयोजनको लागि दिँइदैन । पक्राउ परेका भोटेलाई अदालतबाट विष्फोटक पदार्थ ऐन अन्र्तगत मुद्दामा ४ दिन म्याद थप गरेर अनुसन्धान शुरु गरिसकेको डिएसपी खतिवडाले जानकारी दिए।

 

प्रकाशित: ४ कार्तिक २०७३ ०८:२७ बिहीबार

विष्फोटक पदार्थसहित संघीय समाजवादी फाेरम नेपालका नेता पक्राउ