रोल्पा-मिरुल–३ सिभरीका शिवराज रोकामगरको असोज २ गते जापानमा मृत्यु भयो । यहाँका आफन्तलाई मृत्युको खबर विश्वास गर्नै गाह्रो भयो । तर, सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भएपछि पत्याउन करै लाग्यो । अनि सुरु भयो शव आउने प्रतीक्षा, तर एक महिनाभन्दा बढी भइसक्दा पनि शव आइपुगेको छैन ।
कहिले आइपुग्ने भन्ने पनि टुंगो छैन । शिवराजका बुवा छोराको शव नेपाल ल्याउन पहल गर्न भनेर राजधानी काठमाडौंमै छन । परराष्ट्र मन्त्रालयले शव नेपाल ल्याउन कुनै पहल नगरेको पीडितको भनाइ छ । शिवराज ‘स्टुडेन्ट भिसा’ मा जापान गएकाले शव ल्याउन समस्या भएको जबाफ मन्त्रालयले दिने गरेको छ ।
श्रीमान्को मृत्युको खबरले श्रीमीत प्रेमकुमारी घर्तीमगर झन्डै एक महिना थला परिन् । उनले भनिन्, ‘मलाई अलि सन्चो हुन थालेको चार दिनमात्रै भयो । बिहे भएको दुई वर्ष भयो । छोरी गर्भमा हुँदै धन कमाउने आशमा विदेश जानुभयो । उहाँको सपना पूरा हुनै पाएन ।’
राजधानीमा रहेका रोल्पाली नेताहरूले पनि रोका परिवारको दुःखमा चासो देखाएका छैनन् । शिवराजले दोस्रो संविधानसभा चुनावमा रोल्पा १ बाट सभासद्मा उम्मेदवारी दिएका थिए । उनी मंगोल नेसनल अर्गनाइजेसन पार्टीबाट उठेका थिए । यही भएर अन्य पार्टीका नेताले शव ल्याउन सहयोग नगरेको परिवारको गुनासो छ । उनी आबद्ध पार्टीले पनि केही पहल गरेको छैन ।
शिवराजको परिवारमा श्रीमती, डेढ वर्षकी छोरी, चार दिदीबहिनी, बुवा, आमा, दाजु, भाउजू छन । उनी २०७१ माघमा जापान पुगेका थिए । उनी टोकियोस्थित युनिभर्सिटी अफ सोली टोकियो फोकासिमा कलेजमा जापानी भाषा अध्ययनरत थिए । उनको हृदयाघातका कारण मृत्यु भएको परिवारले जनाएको छ ।
श्रीमान्को मृत्युको खबरले श्रीमीत प्रेमकुमारी घर्तीमगर झन्डै एक महिना थला परिन् । उनले भनिन्, ‘मलाई अलि सन्चो हुन थालेको चार दिनमात्रै भयो । बिहे भएको दुई वर्ष भयो । छोरी गर्भमा हुँदै धन कमाउने आशमा विदेश जानुभयो । उहाँको सपना पूरा हुनै पाएन ।’ प्रेमकुमारी माइती बुढागाउँ–१ मा राहत कोटामा प्रावि तहमा पढाउँछिन् । उनी त्रिभुवन विश्वविद्यालय कृतिपुरबाट शिक्षाशास्त्रमा स्नातकोत्तर गर्दैछिन् । उनले भनिन्, ‘मेरो थेसिसमात्र बाँकी थियो । त्यो पनि आधीजति लेखिसकेकी छु । तर श्रीमान्को मृत्युले मेरो पढाइ अस्तव्यस्त हुनेभयो । मलाई जस्तो विपत्ति अरू कसैलाई नपरोस् ।’
उनले श्रीमान्को शव नेपाल ल्याइदिन पहल गर्न नेपाल सरकार र जापानमा रहेका नेपाली संघसंस्थालाई अनुरोध गरेकी छन् । उनले भनिन्, ‘सासको कुरा मेरा लागि अब यत्तिकै भयो । श्रीमान्को लास भए नि नेपाल ल्याइदिन सबैले पहल गरिदिनुप¥यो । नेपाली परम्पराअनुसार श्रीमान्को काजकिरिया गर्ने अन्तिम इच्छा छ ।’ पारिवारिक स्रोतका अनुसार शिवराज १६ लाख रुपैयाँ ऋण गरेर जापान पुगेका थिए । उनको शव जापानको एक अस्पतालमा दैनिक १५ हजार नेपाली रुपैयाँ तिरेर राखिएको छ । उनको शव ल्याउन अस्पतालमा मात्रै साढे चार लाखभन्दा बढी बुझाउनुपर्ने भएको छ ।
मृत्युपछि धार्मिक परम्पराअनुसार अन्तिम संस्कार गर्न पाउनु मानवअधिकारको आधारभूत मान्यता भएकाले राज्यले लास ल्याउन पहल गर्नुपर्ने नागरिक समाज रोल्पाका अध्यक्ष घनश्याम आचार्यले बताए । ‘सरकारले एउटा नेपाली विदेशमा मर्दा उसको लास नेपाल ल्याउने वातावरण बनाइदिनु पर्दैन, यो राज्यको दायित्वभित्रै पर्दैन’ संयोजक आचार्यले भने, ‘राज्यको दायित्वभित्र पर्छ भने सरकारले महिना दिन बितिसक्दा पनि के हेरेर बसेको छ ? पीडितलाई थप पीडा दिने ?’
प्रकाशित: ४ कार्तिक २०७३ ०४:४७ बिहीबार