समाज

तुइन बिग्रँदा पढाइबाट वञ्चित

म्याग्दी-जिल्लाको मुदी–९ सिमकोस बगरका विद्यार्थी तुइन बिग्रिएपछि विद्यालय जानबाट वञ्चित छन् । सिमकोसमा बसोबास गर्दै आएका आठ घरधुरीका बालबालिका म्याग्दी नदीको तुइन बिग्रिएपछि महिनौंदेखि विद्यालय जान पाएका छैनन् ।

मुदी बगरमा रहेको कैलाश प्राविसम्म आउन बालबालिकालाई निकै सास्ती भएपछि अभिभावकले समेत पठाउन छोडेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद तिलिजाले बताए । ‘विद्यार्थीलाई विद्यालयसम्म आउन निकै समस्या छ । समस्या समाधान गर्न धेरै प्रयास भए पनि सफल हुन सकिएन’, तिलिजाले भने । विद्यालयले घरदैलो अभियानअन्तर्गत सिमकोसमै पुगेर छोराछोरीलाई विद्यालय पठाउन आग्रह गरे पनि अभिभावकले विभिन्न कारण देखाएर अस्वीकार गरेका थिए ।

सरकारको तुइनमुक्त अभियानबारे सुनेपछि झोलुंगे पुल बन्नेमा आशावादी रहेका सिमकोसबासीले थोरै जनसंख्या भएको क्षेत्रका बासिन्दाको समस्या सम्बन्धित निकायले नसुनेको गुनासो गरेका छन् ।

अभिभावकले छोराछोरीलाई विद्यालयमा पठाउन चाहे पनि बन्यजन्तुले आक्रमण गर्ने खतरासमेत भएको बताएका थिए । आवतजावत पनि असज भएको उनीहरूको भनाइ छन् । त्यहाँबाट बगर आउन डेढ घण्टा लाग्छ । ‘तुइनको सहारामा खोला वारपार गर्नुपर्छ । अहिले त्यही पनि बिग्रिएको छ’, बुद्धि विकास मावि मुदीका प्रधानाध्यापक जोगबहादुर विकले भने ।

उनले जिल्लाकै अति विकट क्षेत्र भए पनि राज्यले उपलब्ध गराउनुपर्ने आधारभूत सुविधा र पूर्वाधारको अभावका कारण मुदीका विद्यार्थीलाई सकस भएको बताए । घना जंगलबीचबाट हिँड्नुपर्ने, तुइनको सहारामा नदी तर्नुपर्ने अवस्थाले मानवीय क्षतिको सम्भावना रहेको बारे गाविस तथा जिल्ला तहमा पटकपटक जानकारी गराउँदा समेत बेवास्ता भएको उनको भनाइ छ ।

सरकारको तुइनमुक्त अभियानबारे सुनेपछि झोलुंगे पुल बन्नेमा आशावादी रहेका सिमकोसबासीले थोरै जनसंख्या भएको क्षेत्रका बासिन्दाको समस्या सम्बन्धित निकायले नसुनेको गुनासो गरेका छन् ।

हेम मावि स्रोतकेन्द्र ताकमका स्रोतव्यक्ति गिरिप्रसाद छन्त्यालले सिमकोसको समस्या समाधान गर्न सबैभन्दा पहिले आवश्यक पूर्वाधार बनाउनुपर्ने बताए । ‘बालबालिकालाई विद्यालय ल्याउन निरन्तर पहल भइरहेको छ तर आवतजावतकै प्रमुख समस्या छ’, छन्त्यालले भने । मुदी गाविसलाई २०६८ सालमा जिल्ला शिक्षा कार्यालयले विद्यालय उमेर समूहका विद्यार्थी विद्यालय बाहिर नभएको गाविस घोषणासमेत गरेको थियो ।

प्रकाशित: ४ कार्तिक २०७३ ०४:२५ बिहीबार

तुइन बिग्रँदा पढाइबाट वञ्चित