समाज

डिआइजी सिंहको राजीनामा स्वीकृत

नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) अशोक सिंहले आफ्नो पदबाट दिएको राजीनामा आज स्वीकृत भएको छ।

गृहमन्त्रीको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहालले उनको राजीनामा स्वीकृत गरेको गृह सचिव विनोदप्रकाश सिंहले जानकारी दिए। 

राजीनामा स्वीकृत भएसँगै आजै गृह मन्त्रालयले स्वीकृत भएको पत्र प्रहरी प्रधान कार्यालयमा पठाइसकेको छ। सिंहले बुधबार प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखामा राजीनामा बुझाएका थिए। राजीनामा दिनुअघि सिंह सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको प्रमुखका रूपमा कार्यरत थिए।

जन्म मिति फरक परेको विषय सार्वजनिक भएपछि उनले पदबाट राजीनामा दिएका हुन्। उक्त विषयमाथि छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीसमेत परेको छ।

नेपाल प्रहरीले पनि उनको जन्म मितिका बारेमा आन्तरिक छानबिन गरिरहेको थियो। उनले राजीनामा पत्रमा घरायसी कारण उल्लेख गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। 

प्रकाशित: ११ फाल्गुन २०७९ १४:३७ बिहीबार

नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) अशोक सिंह