समाज

दुई दशकदेखि फरार रहेका तीन अभियुक्त पक्राउ

झण्डै दुई दशकदेखि विभिन्न आपराधिक गतिविधिमा संलग्न रही फरार रहेका तीन अभियुक्तलाई प्रहरीले पक्राउ गरेका छ। 

फरक फरक विधाका अपराध गरेको अभियोगमा मुद्दा चलाई अदालतबाट दोषी करार भए पनि फरार रहँदै आएका तीनै जनालाई खोजतलासीको क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ।  

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार लुकिछिपी बसेको अवस्थामा उनीहरु पक्राउ परेका हुन्। पक्राउ पर्नेमा विगत १८ वर्षदेखि फरार रहेका कर्तव्य ज्यान मुद्दाका अभियुक्त ताप्ली गाउँपालिका ५ का ५२ वर्षीय मधु दमाई, कर्तव्य ज्यानकै दोषी करार सोही गाउँपालिका १ डुम्रेका ५० वषस्य तसबहदुर सुनुवार र चोरी अभियुक्त कटारी नगरपालिका ३ का ३९ वर्षीय सन्तोष विश्वास रहेका छन्।

दमाईलाई ०६१ फागुन ९ गते बसेको उदयपुर जिल्ला अदालतको इजालसले २ वर्ष ३ महिना ११ दिन कैद सजाय तोकेको थियो। त्यस्तै सुनुवारविरुद्ध अदालतले ०६५ माघ ५ गतेको फैसला अनुसार १ वर्ष कैद सजाय सुनाएको थियो। अर्का अभियुक्त विश्वासलाई अदालतले ०७३ असार १६ गतेको फैसला अनुसार ४५ हजार जरिवाना तोकेको थियो।

अदालतले दोषी प्रमाणित गरे पनि प्रहरी नजरमा भाग्दै आएका उनीहरूलाई जिल्ला प्रहरीको विशेष टोलीले खोजतलास गर्ने क्रममा गाउँघरमै लुकिछिपी बसेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी राकेश पोदारले बताए।

उनका अनुसार पक्राउ सबैलाई जिल्ला प्रहरी कार्यालयमा ल्याई सजाय भुक्तानका लागि जिल्ला कारागार शाखा पठाइएको छ।

प्रकाशित: ११ फाल्गुन २०७९ १३:३७ बिहीबार