समाज

नगरकोटमा भेटिए सयौं वर्ष पुराना शिलालेख

भक्तपुर- भक्तपुरको नगरकोट नगरपालिका–३ इथुलीमा करिब चार सय वर्ष पुराना तीन वटा शिलालेख फेला परेका छन्। साविकको ताथली गाविस–८ मा पर्ने इथुलीको चोलिंद्यो (चुनदेवी)स्थित मन्दिर जीर्णोद्धार क्रममा ती शिलालेख फेला परेको स्थानीयले जनाएका छन्।

चुनदेवी मन्दिर सुधार समिति संयोजक रामप्रसाद लवजूले भूकम्पमा भत्केको मन्दिर जीर्णाेद्धार गर्न भत्काउँदा शिलालेख भेटिएको जानकारी दिए । एउटा शिलालेख मन्दिरमुनि गाडिएको अवस्थामा र दुई वटा मूर्तिछेउ भेटिएको उनले बताए । मन्दिरको जीर्णाेद्धार भइरहेको छ । फेला परेका शिलालेखहरू समिति संयोजक लवजूको घरमा सुरक्षित राखिएका छन् ।

शिलालेख राम्ररी पढ्न नसकिने अवस्थामा छन् । नेवारी भाषाको शिलालेख देवनागरी र रञ्जना लिपीमा छन् । अधिकांश अक्षर खिइसकेकाले पढ्न नसकिने भए पनि बुझिने अवस्थामा रहेका केही शब्दका आधारमा शिलालेख नेपाल सम्वत् ७०० आसपासको भएको अनुमान गरिएको छ । अहिले नेपाल सम्वत ११३६ चलिरहेको छ ।

शिलालेखमध्ये एउटा भक्तपुरका तत्कालीन राजा जगतप्रकाश मल्लको (नेपाल सम्वत ७३६–७९३), अर्को जगतप्रकाशकै (७६४–७९३) र तेस्रो पनि जितामित्र मल्लको (७९३–८१६) रहेको अनुमान गरिएको छ । यी शिलालेखमध्ये एउटा २७ सेन्टिमिटर लामो र २२ सेन्टिमिटर चौडा, अर्को ३४ सेन्टिमिटर लामो र ३२ सेन्टिमिटर चौडा तथा तेस्रो ३५ सेन्टिमिटर लामो र २० सेन्टिमिटर चौडा छ ।

इतिहासविद् प्राडा पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार शिलालेख करिब चार सय वर्ष पुराना हुन् । उनले शिलालेख नेपाल सम्वत् ७०० आसपासका रहेको बताए । पढ्न सकिने अंशका आधारमा शिलालेख भक्तपुरका तत्कालीन राजा जगतप्रकाश मल्लका पालाको भएका श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार भक्तपुरको प्रसिद्ध नवदुर्गा गणको उत्पत्तिसँंग शिलालेख फेला परेको ठाउँ इथुली जोडिएको छ । मध्यकालमा नवदुर्गा नाच यही ठाउँमा सिकाइएको उनले जनाए । भक्तपुरबाट पूर्वस्थित यो ठाउँ भोट, चीन जाने मुख्यबाटो पनि हो । यो ठाउँ भक्तपुरको जगातीदेखि च्याम्हासिंह बीचस्थित थुसाचाबाट करिब दुई किलोमिटर पूर्वमा पर्छ ।

मन्दिरमा वर्षेनी विभिन्न चाडपर्व, उत्सव, जात्रा आदिमा पूजा गरिनुका साथै मेला लाग्छ । विशेष गरी यहाँ दसैंको अष्टमी, बिस्केट जात्रा, गणेश चतुर्थी (चोथा)मा बलिसहित पूजाआजा गरिन्छ ।

स्थानीयको सक्रियतामा मन्दिर जीर्णाेद्धार थालिएको थियो । पुनर्निर्माण गर्न करिब १३ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । स्थानीयले चन्दा संकलन गरी पुनर्निर्माण थालेका हुन् । पुनर्निर्माणमा अहिलेसम्म ३ लाख रुपैयाँ खर्च भएको जीर्णाेद्धार समितिले जनाएको छ।

प्रकाशित: ३ कार्तिक २०७३ ०२:३६ बुधबार

नगरकोटमा भेटिए सयौं पुराना शिलालेख