समाज

पाटनमा बढे पर्यटक

ललितपुर- ललितपुर उपमहानरगपालिकाले पाटन भ्रमण गर्ने पर्यटकका लागि लागू गरेको एकद्वार पर्यटक शुल्क प्रणालीले यहाँ पर्यटक संख्या बढ्न थालेको छ। यसअघि पाटन क्षेत्र घुम्न आउने विदेशी पर्यटकले पाटन दरबार स्क्वायर प्रवेश गर्दा ३ बेग्लाबेग्लै ठाउँमा शुल्क तिर्नुपर्थ्यो।

एकद्वार प्रणाली लागू गरेको १३ दिनमै ९ हजार ३२ जना पर्यटकले पाटन दरबार क्षेत्र भ्रमण गरेका छन्। एकद्वार लागू हुनुअघिको १३ दिनमा जम्मा १ हजार २ सय ७५ पर्यटकले पाटन भ्रमण गरेका थिए। 

यसअघि दरबार क्षेत्र घुम्न दैनिक करिब डेढ सयको संख्यामा पर्यटक आउने गरेकोमा अहिले दैनिक हजार जनाभन्दा बढी पयर्टक पाटन आउन थालेका छन्। एकद्वार प्रणाली लागू हुनुअघि पर्यटकले ३ ठाउँमा गरी १ हजार २ सय रुपैयाँ पर्यटक शुल्क तिर्नुपर्थ्यो भने अहिले जम्मा हजार रुपैयाँमात्र शुल्क तिरी पाटन दरबार क्षेत्र घुम्न पाउँछन्।

उपमहानगरपालिकाले असोज १ मा एकद्वार प्रणाली लागू गरेको हो। गत वर्षको भूकम्पपछि न्यून भएको पर्यटक संख्या अहिले बढ्न थालेको छ। …यसअघि पाटन घुम्न आउने पर्यटकले दरबार क्षेत्रलगायत विभिन्न स्थान घुम्न १२ सयमा खर्चनु पर्थ्यो भने ३ ठाउँमा शुल्क तिर्नु पर्ने झन्झट थियो, अहिले त्यो झन्झट छैन,' उपमहानगरपालकाका कार्यकारी अधिकृत भरतमणि पाण्डेले भने।

उपमनपालेे पाटन संग्रहालय विकास समितिसँग सम्झौता गरी एकद्वार प्रणाली लागू गरेको उपमनपाका कार्यकारी अधिकृत पाण्डे बताउँछन्। एकद्वार प्रणाली लागू भएसँगै पाटन घुम्न आउने सार्क राष्ट्रका पर्यटकले २ सय ५०, सार्क बाहेकका पर्यटकले हजार र आन्तरिक पर्यटकले ३० रुपैयाँ शुल्क तिर्नुपर्छ। यसअघि सार्क बाहेकका पर्यटकले १ हजार २ सय रुपैयाँ पर्यटक शुल्क तिर्नुपर्थ्यो।

यसरी एकमुष्ट प्रवेश शुल्क तिर्दा झन्झट हराएको पर्यटकले बताए। शनिबार पाटन दरबार क्षेत्रमा घुमिरहेका अस्ट्रेलियाली किरी क्लार्कले पाटन क्षेत्र घुम्न पहिलेभन्दा अहिले आफूलाई सहज लागेको सुनाए। उनी भन्छन्, …पहिला दरबार प्रवेश गर्दा साह्रै अप्ठेरो थियो, शुल्क कहाँ तिर्ने अलमल हुन्थ्यो। अहिले एक ठाउँमा शुल्क तिरी टिकट लिएपछि सबैतिर ढुक्कसँग घुम्न पाइन्छ।'

ललितपुर उपमहानगरकाकी सम्पदा संरक्षण महाशाखा प्रमुख चन्द्रशोभा शाक्यले भूकम्पपछि पाटनमा पयर्टक घटेकाले पर्यटक संख्या वृद्धि गर्न एकद्वार शुल्क प्रणाली लागू गरिएको बताइन्। उनले भनिन्, …पयर्टकबाट उठाएको शुल्कमध्ये ५ प्रतिशत रकम पर्यटन प्रवर्द्धनमा खर्च गरिनेछ।'

पाटन दरबार क्षेत्र घुम्ने पर्यटकले बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म शुल्क तिर्न सक्छन्। एकद्वार प्रणाली लागू भएपश्चात् राजस्व चुहावट पनि रोकिएको र पर्यटक पनि ठगिनबाट जोगिएको पाटन संग्रहालयका अधिकृत सुरेशमान लाखेले जानकारी दिए।

लाखेले भने, …एकद्वार प्रणाली लागू हुनु पूर्व १३ दिनमा विदेशी र नेपाली गरी १ हजार २ सय ७५ जना पर्यटक पाटन आएका थिए। एकद्वार लागू भएपछि  १३ दिनमा स्वदेशी र विदेशी गरी ९ हजार ३२ जना पर्यटकले पाटन भ्रमण गरेका छन्।'

ललितपुर उपमनपाले भदौ २७ गते पर्यटन मन्त्रालय, पाटन संग्रहालय विकास समिति, नागरिक समाज तथा स्थानीयसँग छलफल गरी एकद्वार शुल्क प्रणाली लागू गर्ने निर्णय गरेको थियो।

प्रकाशित: १ कार्तिक २०७३ ०२:२२ सोमबार

पाटनमा बढे पर्यटक