समाज

११ लाख राजधानी फर्किए

काठमाडौं- दसैं मनाउन घर गएका सर्वसाधारण दसैं सकिएसँगै फर्कन थालेपछि राजधानीमा फेरि मानवीय र सवारीसाधनको चाप बढ्न थालेको छ। आइतबार बिहान मात्रै ९० हजारभन्दा बढी सर्वसाधारण राजधानी भित्रिएको महानगरीय ट्राफिक प्रहरी कार्यालयका डिएसपी लोकेन्द्रबहादुर मल्लले बताए।

बडादशैं मनाउन उपत्यकाबाट बाहिरीएका अनुमानित २५ लाख सर्वसाधारणमध्ये आइतबारसम्म ११ लाख फर्किसकेको मल्लले बताए। उनका अनुसार कोजाग्रत पूर्णिमा शनिबार परेकाले भित्रिने संख्या कम भए पनि आइतबार ह्वात्तै बढेको छ। शनिबार बिहान ५ बजेयता आइतबार बिहान ५ बजेसम्म ९० हजारभन्दा बढी सर्वसाधारण उपत्यका भित्रिएको उनले बताए।

राजधानीमा भित्रिने तीन नाकामध्ये सबैभन्दा बढी यात्रु भित्रिने नागढुंगाबाट आइतबार बिहान १० बजेसम्म ७ हजार ३ सय १८ वटा सवारीसाधनबाट करिब ६७ हजार ४ सय ६९ जना यात्रु भित्रिएको नागढुंगा चेकपोस्टका प्रहरी नायब निरीक्षक गुणनिधि खगुरेलले जानकारी दिए।

शुक्रबार पनि ९० हजारभन्दा बढी यात्रु राजधानी प्रवेश गरेको ट्राफिक प्रहरीको तथ्यांकले देखाएको छ। बिहीबार करिब ६२ हजार यात्रु र  टीकाको दिन करिब २५ हजार यात्रु राजधानी प्रवेश गरेका थिए।

चेकपोस्टका अनुसार शनिबार राजधानी भित्रिने यात्रुको चाप सबैभन्दा बढी थियो। शनिबार कोजाग्रत पूर्णिमा भएकाले दसैंविदा समाप्त भएर आइतबार कार्यालय खुल्ने भएकाले राजधानी भित्रिनेको चाप बढेको चेकपोस्टका प्रहरीले बताए।

प्रकाशित: १ कार्तिक २०७३ ०२:१७ सोमबार

११ राजधानी फर्किए