समाज

टीका थाप्न जानेको उपत्यकामा चहलपहल

काठमाडौँ- आश्विन शुक्ल द्वादशीका दिन आज पनि मान्यवरबाट दसैँको टीका थाप्न जानेको काठमाडौँ उपत्यकामा चहलपहल देखिएको छ । काठमाडौँका मुख्य बजार र सडकमा सवारीसाधनको चाप कम रहेकाले टीका लगाउन जाने सर्वसाधारण निधारमा टीका तथा कानमा जमरा सिउरेर सडकमा हिँडेर पनि गन्तव्यतर्फ लागेको देख्न पाइन्छ ।

कोजाग्रत पूर्णिमाका दिनसम्म टीका लगाउन आवतजावत गर्ने यात्रु सडकमा पाइन्छन् । विभिन्न बसपार्कमा बसको प्रतीक्षामा बसेका यात्रु देखिन्छन् । दसैँ मनाउन काठमाडौँबाट मानिस आ–आफ्ना घर गएको र यहाँका बजार, कार्यालय पनि प्रायः बन्द रहेकाले सडक सुनसान देखिए पनि टीका लगाउने सर्वसाधारणको हिँड्डुलले सडकमा रमाइलो देखिएको छ ।

सडकमा भाडाका सवारीसाधन फाट्फुट चलेका छन् भने निजी सवारीसाधन पनि सञ्चालन भएका छन् । सरकारले निर्दिष्ट गरेको भाडादरभन्दा बढी रकम लिने सवारीसाधनलाई कारबाही गर्ने भनिएपनि ट्याक्सीले बढी रकम लिने गरेको गुनासो यात्रुको छ । रासस

प्रकाशित: २७ आश्विन २०७३ ०३:२७ बिहीबार

टीका थाप्न जानेको उपत्यकामा चहलपहल