समाज

अनुसन्धान केन्द्रले बाँडेको धान नफल्दा भकारी रित्तै

 सीताराम अधिकारी

मलेखु(धादिङ)-  खेतबारीको नाममा यत्ति हो। वर्षभरि खाने अन्न यही खेतको धान हो। अरु केही छैन। गत वर्षहरुमा ३० मुरी धान फल्थ्यो। चाडपर्वको खर्च समेत यही धानबाट गर्ने गरिएको थियो । अहिले धानको बाला निस्किएपछि सबै सुकेर भुस मात्र फल्यो। अब हामी कसरी बाँच्ने ? नीलकण्ठ नगरपालिका वडा नं ७ तल्लोबेंसीका विष्णुप्रसाद कोइरालालाई यो समस्याले चिन्ता गराएको छ।
गत आवमा कृषकलाई ५० प्रतिशत अनुदानमा क्षेत्रीय कृषि अनुसन्धान केन्द्र बाराले उत्पादन गरेको हर्दीनाथ एक नामक धानको बीउ जिल्ला कृषि विकास कार्यालय मार्फत वितरण गरेपछि सोही धान लगाएका कोइरालाले यस्तो समस्या भोग्नुपरेको हो ।
पाँच रोपनी जग्गामा लगाइएको हर्दीनाथ एक धान लगाएका कोइरालाको पाँच जनाको परिवार छ। धान फलेमा उनीहरुको परिवारलाई यही धानको भात खाएर एक वर्ष चल्छ । सन्तानको पढाइलेखाइ चल्छ । जब धान फलेन तब उनको ओठमा मुस्कानको सट्टा अँध्यारो बादल छाएको छ । अब के खाने ? एक वर्ष कसरी बाँच्ने ? कोइराला चिन्तामा छन्।
कोइराला मात्र होइन, सुकुम्बासी विष्णु श्रेष्ठले अधियाँमा लगाएको चार रोपनी खेतको धान फलेन। बाला लाग्ने बेलामा भुस मात्र फलेको छ । धेरै फल्छ, अनुसन्धान केन्द्रको धान राम्रो हुन्छ, रोग प्रतिरोधी छ भन्ने लागेर उनीहरुले त्यसको बीउ किनेर लगाएका थिए।
बीउ उम्रिया । सबै राम्रोसँग बढेको हो । अन्य वर्षभन्दा राम्रो फल्छ भन्ने देखिएको थियो। धानको बाला निस्कन लागेपछि मर्न थल्यो । जिल्ला कृषि विकास कार्यालयमा सम्पर्क भयो। कर्मचारीले औषधि पनि लेखिदिएका हुन् तर उनीहरुले लेखिदिएको औषधिले उपचार भएन। नीलकण्ठ नगरपालिका तथा सलाङ र त्रिपुरेश्वर गाविसमा १८ क्विन्टल धानको बीउ वितरण गरिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ।
बीउ ल्याउँदा आधा पैसा कृषकले तिर्ने गरी ल्याइएको र सोही बीउ वितरण गरिएकाले आफ्नो कुनै कमजोरी नभएको तर कृषकको खेतमा धान नफलेको वास्तविकतालाई सहयोग गर्न जिल्ला कृषि विकास कार्यालय तत्पर रहेको कार्यालयका निमित्त कार्यालय प्रमुख दुर्गादत्त पन्थीले बताए।
बालीरोग विज्ञान महाशाखाको सिफारिसमा अनुसन्धान केन्द्रले नै तयार गरी पठाएको बीउ भए पनि बीउ वितरणकै समयमा किरा लागेको र बिनाउपचार बीउ ल्याइएको कृषक टोपकुमारी मल्लले बताए। उनीको अन्य खेत नभएको र सबै खेतमा लगाइएको धान सबै नफलेपछि समस्यामा परेको हो।
धान नफलेर गुनासो आएको भन्ने जानकारीपछि महाशाखाले सो क्षेत्रका धानको परीक्षण गरी ‘नेक ब्लास्ट’ नामक रोग लागेकाले बीउ लगाउँदा उपचार गर्न, धानको बाला निस्कनुअघि र निस्केपछि विषादी हाल्न र रोगग्रस्त बाला निकालेर फाल्न सुझाव दिएको छ । कृषकले भने धानको बीउ लगाउँदा भन्नुपर्ने कुरा अहिले सुझाव दिएर कसरी लगाउनू भन्दै क्षतिपूर्तिको माग गरेका छन्। खाद्यअधिकार जिल्ला सञ्जाल, इन्सेक, राष्ट्रिय कृषकसमूह महासङ्घ लगायत संस्थाले कृषकलाई क्षतिपूर्ति दिन कृषि विकास कार्यालयमा माग गर्दै ज्ञापनपत्र बुझाएका छन्।  सो धान सामान्य तवरले फलेमा पनि एक सय ११ मेट्रिक टन उत्पादन हुने कार्यालयले जनाएको छ। रासस

 

प्रकाशित: २४ आश्विन २०७३ ०८:१५ सोमबार

अनुसन्धान केन्द्रले बाँडेको धान नफल्दा भकारी रित्तै