समाज

सामाजिक विकास कार्यालयमा टुक्रे योजना, कार्यान्वयनमा झन्झट

गोरखास्थित सामाजिक बिकास कार्यालय।

गण्डकी प्रदेश सरकार मातहतको सामाजिक विकास कार्यालय गोरखामा स–साना टुक्रे योजनाले कायन्वयनमा समस्या भएको छ। कार्यालयले चालु वर्षकालागि १५ लाखदेखि माथिका २० वटा योजना प्रदेश मन्त्रालयमा प्रस्ताव गरेर पठाएको थियो। 

‘हामीले पठाएको मध्य एउटा मात्रै योजना पर्‍यो, अरू योजना कहाँबाट थपियो थाहा छैन’ सामाजिक विकास कार्यालय गोरखाका प्रमुख दिपेन्द्र परियारले भने। अहिले कार्यालयसँग ९७ वटा योजना छ। यो सबै योजना नेताले आफूखुसी चिनेजानेकाहरुलाई लक्षित गरी विनियोजन गरेका छन्। कार्यालयले प्रस्ताव गरेका योजना सबैको लालपुर्जा भए नभएको यकिन गरेर मागका आधारमा पठाइने गरिएको भए पनि स्वीकृत भएर आउँदा फरक आउने गरेको कार्यालयका कर्मचारी बताउँछन्। 

८० वटा योजना विभिन्न निर्माण सँग सम्बन्धी छ। १४ वटा विद्यालयमा पहिरो नियन्त्रण र तीन वटा विद्यालय मर्मत संहार सम्बन्धी योजना छ। ‘एक देखि पाँच लाखका योजना धेरै छन्’ कार्यालय प्रमुख परियारले भने ‘अहिले सम्म ७७ वटा सम्झौता भएको छ।’ 

कतिपय योजना कार्यान्वयन हुन सक्ने अवस्था मै छैनन्। महिला समूहको भवन निर्माण, सामुदायिक भवन निर्माण, चर्च, गुम्बा, मन्दिर निर्माण जस्ता योजना धेरै छन्। भवन निर्माण गर्न अधिकांश पाँच लाखका योजना छन्। 

‘पाँच लाखमा भवन त बन्दैन तर यो वर्ष पिल्लर उठाउने वा जग हाल्न सम्म पुग्न सक्छ’ कार्यालय प्रमुख परियारले भने ‘मन्त्रालयबाट आएको योजना हामीले कार्यान्वयन गर्नैपर्‍यो।’ योजना धेरै भयो भनेर मन्त्रालयमा भनेको तर सुनुवाइ नभएको उनले बताए। 

अहिले बजेट विनियोजन भएका ९७ वटा योजना मध्ये दुई वटा मात्रै गत वर्षका योजनाले निरन्तरता पाएका छन्। गत वर्ष अधुरा रहेका योजनामा यस वर्ष बजेट छैन। यस वर्ष अधुरो हुने योजनामा आउँदो वर्ष बजेट आउने पक्कापक्की छैन। स्थानीय तहले भन्दा कम बजेटमा प्रदेश मातहतको कार्यालयले योजना सम्झौता गरिरहेको छ। 

‘भवनका योजनामा आफ्नो लालपुर्जा वा स्वामित्वमा भएको प्रमाण वडाबाट लिएको हुनुपर्छ’ सामाजिक विकास कार्यालय गोरखाका प्रमुख दिपेन्द्र परियारले भने ‘त्यो भएन भने हामीले भवन बनाउन सक्दैनौँ, कित्ताकाँटका नहुँदा केही योजना कार्यान्वयनमा समस्या देखिएको छ।’

अजिरकोट गाउँपालिका वडा नम्बर ४ मा नमुना प्राविधिक प्रतिष्ठानकालागि ५० लाख सहित एक करोड ३० लाखको ११ वटा योजना छन्। मध्ये अधिकांश सामुदायिक भवन छ। वडा नम्बर ४ मा मात्रै पाँच वटा योजना छ। 

आरुघाट गाउँपालिकामा १५ लाखको दुई वटा योजना छ। गुम्बा निर्माणकालागि गण्डकी गाउँपालिकामा एउटा मात्रै पाँच लाखेको योजना छ।

गोरखा नगरपालिकामा मानव सेवा आश्रमकालागि ५० लाख सहित एक करोड ५३ लाखका १३ वटा योजना छ। चुमनुब्री गाउँपालिकामा चार वटा योजनामा २० लाख बजेट विनियोजन गरिएको छ। 

धार्चे गाउँपालिकामा पाँच लाखको एउटा मात्रै योजना छ भने पालुङटारमा ५५ लाखको सात वटा योजना छ। बारपाक सुलिकोट गाउँपालिकामा एक करोड २९ लाखको १६ वटा योजना छ। 

भिमसेन थापा गाउँपालिकामा १५ लाखको तीन वटा, शहीदलखन गाउँपालिकामा १० लाखको दुई वटा मात्रै योजना रहेको छ। सिरान चोक गाउँपालिका ५ मा भीमसेन स्मृति प्रतिष्ठानको युद्ध सङ्ग्रहालय निर्माणकालागि ५० लाख सहित २१ वटा योजनामा दुई करोड २७ लाख बजेट रहेको छ।

‘निर्माणका भन्दा पनि सामाजिक विकाससँग सम्बन्धित कार्यक्रम नै आउँदा कार्यान्वयन गर्न सजिलो हुन्थ्यो’ कार्यालय प्रमुख परियारले भने ‘साना बजेटका योजना कार्यान्वयन गर्नै गाह्रो छ।’ योजना कार्यान्वयन गर्न दरबन्दी अनुसार प्राविधिक जनशक्ति मन्त्रालयले व्यवस्था गरेको छैन। अहिले सामाजिक विकास कार्यालयले दुई जना प्राविधिक करारमा नियुक्त गरेर काम गराउँदै आएको जनाएको छ। 

गाउँ तथा नगरपालिकाका प्रमुख उपप्रमुखहरूले स–साना टुक्रे योजना सिधै गाउँपालिकामा पठाउन माग गरेका छन्। जिल्ला स्तरीय समीक्षा कार्यक्रममा उनीहरूले गाउँपालिकाको भन्दा पनि साना योजना प्रदेश कार्यालयबाट कार्यान्वयन गर्नु सान्दर्भिक नहुने बताए। संघ र प्रदेशबाट टुक्रे योजना धेरै आउन थालेपछि सातौँ जिल्ला सभाले गोरखामा १० लाख भन्दा कमका योजना प्रस्ताव र बजेट विनियोजन नगर्न प्रदेश र संघ मातहतका कार्यालयलाई अनुरोध गर्ने निर्णय समेत गरेको छ। 

प्रकाशित: ८ फाल्गुन २०७९ ११:३३ सोमबार

गण्डकी प्रदेश