चितवन- यही असोज ९ गते त्रिशूली नदीमा पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरेसहित बेपत्ता भएका उनका भाइ मोहन घिमिरेको शव आज फेला परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार तनहुँ जिल्लाको देवघाट गाविस–४ बगईस्थित त्रिशूली नदीमा उनको शव भेटिएको हो ।
काठमाडौँ महानगरपालिका, वडा नं १६ वनस्थली घर भएका घिमिरेको शव माझीले देखेपछि जिप्रका चितवनका प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरसहितको टोली घटनास्थल पुगेको थियो ।
पर्समा रहेको परिचयपत्र र एटिएम कार्डबाट शवको पहिचान भएको प्रहरीले जनाएको छ । शव भरतपुरको शवगृहमा ल्याउने काम भइरहेको छ । पूर्व मन्त्री घिमिरे र उनका अर्का भाइ बेपत्ता छन्। उनीहरुको खोजीकार्य जारी छ । सो दुर्घटनामा परी उनकी आमासहित तीनजनाको घटनास्थलमै मृत्यु भएको थियो भने चालकको काठमाडौँमा उपचार भइरहेको छ । रासस
प्रकाशित: २२ आश्विन २०७३ ०६:५३ शनिबार