समाज

अवैध चल्लासहित १४ भारतीय र ३ नेपाली तस्कर पक्राउ

रौतहट- अवैध चल्लासहित १४ भारतीय र ३ नेपाली तस्करलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मध्यक्षेत्रीय प्रहरी कार्यालय हेटौंडाबाट खटेको विशेष टोलीले रौतहट कर्कच कर्मैया-८ टिकुलियाबाट १४ कार्टुन चल्ला नियन्त्रणमा लिएको हो। उनीहरुको साथमा रहेको १४ वटा साइकल र दुई वटा मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा भारत मोतिहारीका विश्नाथ प्रसाद यादव, विजयप्रसाद यादव, सुरेन्द्र शाह, भुनेश यादव, रामाधार राय, उमेश राय, मुनाकुमार यादव, ननत राय, सन्जय कुमार यादव, लौकुश यादव, योगेन्द्र शाह, शंकर बैठा, पुन्देव राय र विनोद प्रसाद यादव छन्।

त्यस्तै रौतहट कोपवा पिपरियाका साहेब राय, धरहरी यादव, राजेशकुमार शाह र मोतिम हासिम अन्सारी छन्।

नियन्त्रणमा लिइएको चल्ला नष्ट गरिएको मध्यक्षेत्रीय प्रहरी कार्यालय हेटौंडा डिआइजी पशुपति उपाध्यायले जानकारी दिए। पछिल्लो समय रौतहटमा तस्करहरु सक्रिय रहेको भन्दै विशेष टोली परिचालन गरिएको उपाध्यायले जानकारी दिए। पक्राउ परेकाहरुको अनुसन्धान भइरहेको उनले जानकारी दिए।

 

प्रकाशित: २१ आश्विन २०७३ ०७:४५ शुक्रबार

अवैध चल्लासहित १४ भारतीय नेपाली तस्कर पक्राउ