समाज

जाजरकोटमा खाद्य डिपो रित्तै, दशैं बन्ने भयो निरस

नायकवाडाको घाट डिपोमा चामल लिन आएका सर्वसाधारण।

जाजरकोट–सधै खाद्य अभाव भइरहने वारेकोट क्षेत्रको घाट डिपोमा दशैंको मुखैमा चामल रित्तिएको छ। त्यस क्षेत्रका चार गाविसका स्थानीयले दसैंमा चामल नपाउने भएका छन्।

जिल्लाको अति दुर्गम वारेकोट क्षेत्रका नायकवाडा, सक्ला, रोकायगाउँ र रामीडाडा गाविसका जनताका लागि भनेर नायकवाडाको घाटमा  रहेको खाद्य डिपोमा एक गेडो पनि चामल नभएपछि स्थानीय सकंटमा परेका हुन्। सरकारले यस वर्ष घाट डिपोका लागि एक हजार क्विन्टल चामल छुटयाए पनि उक्त कोटाको चामल अहिलेसम्म डिपोमा पुगेको छैन।

डिपोमा चामल सकिएपछि चामल बिक्री गर्न  गएका नेपाल खाद्य सस्थानका कर्मचारी दिपक अर्याल सदरमुकाममा फर्किएका छन्।

दसैं सुरु भएकै दिन डिपोमा चामल सकिएपछि स्थानीय दसैंमा भात खान नपाइने चिन्तामा छन्। डिपोमा थोरै मात्रामा मौज्दात रहेको चामल दसैंको मुखैमा सकिएका कारण स्थानीयका घरमा चामलको अभाव भएको  हो।  

स्थानीय दिनदिनै चामलका लागि डिपोमा धाउने गरेको भएपनि रित्तो हात घर फर्कने गरेको  नायकवाडाको वीरेन्द्र ऐश्वर्य माध्यमिक विद्यालय लिम्साका प्रधानाध्यापक गोरखवहादुर सिंहले बताए।

जाजरकोटमा खाद्य डिपो रित्तै दशैं बन्ने निरस