समाज

पाटनकी कुमारीले पढ्न पाइनन्

ललितपुर- काठमाडौं उपत्यकाका तीनै सहर काठमाडौं, ललितपुर र भक्तपुरमा जीवित देवी मानिने कुमारीका आआफ्नै परम्परा छन्। त्यसैगरी कुमारीका सेवा सुविधा र समस्या पनि तीन वटै सहरमा फरक फरक छन्। राजधानी काठमाडौंकी कुमारीको मासिक पारिश्रमिक ४० हजार रुपैयाँ छ र अध्ययन खर्च गुठी संस्थानले बेहोर्छ। भक्तपुरकी कुमारीको पारिश्रमिक सबैभन्दा थोरै मासिक ४ हजार १ सय रुपैयाँ छ तर विद्यालयमै अध्ययन गर्न पनि कुनै बाधा छैन। तर ललितपुरकी कुमारीको मासिक पारिश्रमिक मासिक ८ हजार रुपैयाँ भए पनि अध्ययन गर्न भने तगारो लागेजस्तै भएको छ।

ललितपुरमा कुमारीको भिन्न परम्पराले गर्दा उनको अध्ययनमा तगारो लाग्ने स्थिति उत्पन्न भएको हो । परम्परा अनुसार यहाँकी कुमारीले औपचारिक समारोहबाहेक अन्य समय आवासबाट बाहिर जान पाउँदिनन्। कुमारी भइञ्जेल पाटनको रत्नानगर विहारमै बस्नुपर्छ, बाहिर निस्कन पाइँदैन । अध्ययन लगायत सबै काम आवासमै गर्नुपर्छ ।

विहारमा बसेकी कुमारीलाई त्यहीँ नै पठनपाठनको प्रबन्ध मिलाउनुपर्छ । उनको पारिश्रमिक तीन वर्षयता वृद्धि भएको छैन । अहिलेको पारिश्रमिक कुमारीको नित्य पूजा गर्न पनि अपुग रहेको कुमारीका बुबा रमेश बज्राचार्यले बताए । उनले भने, ‘कुमारीलाई ललितपुर उपमहानगरपालिकाले ५ हजार र गुठी संस्थानले ३ हजार रुपैयाँ मासिक दिँदै आएका छन् । यो रकमले कुमारीको दैनिक गर्नुपर्ने नित्य पूजा गर्न पनि पुग्दैन।’

बज्राचार्यका अनुसार अहिले कुमारीको नित्य पूजादेखि जीवनयापनको मासिक खर्च २५ हजार रुपैयाँभन्दा बढी हुन्छ । यो रकम कुमारीलाई चढाइएको भेटी र नपुग बज्राचार्य आफैंले प्रबन्ध गर्दै आएका छन् । कुमारीको स्याहारका लागि एक जना आवश्यक पर्छ । कुमारीलाई स्याहार्न आफ्नो परिवार नै सधैं विहारमा बस्नुपर्दा आफ्नो आम्दानी घट्दै गएको बज्राचार्य बताउँछन् ।

कक्षा ३ मा अध्ययन गर्ने ८ वर्षीया कुमारीको अध्ययन अहिले रोकिएको छ । विहार बाहिर निस्कन नपाउने हुँदा उनी विद्यालयमा अध्ययन गर्न जान पाउँदिनन् । उनलाई विहारमै शिक्षक गएर अध्यापन गराउनुपर्छ । तर अहिले उनलाई विहारमै अध्यापन गराउने जिम्मा लिएको पूर्णचण्डिस्थित भासरा इंगलिस बोर्डिङ स्कुलले बेवास्ता गरेपछि उनको अध्ययन रोकिएको बज्राचार्यले बताए । विद्यालयले कहिलेकाहीँ मात्र अध्यापनका लागि शिक्षक विहारमा पठाउने भन्दै परिवारले कुमारीको अध्ययनप्रति चिन्ता व्यक्त गरेको हो।

यसअघि कक्षा २ अध्यापन गराएको विद्यालयले उनलाई अध्यापन गराउन अनिच्छा देखाएपछि भासराले अध्यापन गराउने जिम्मा लिएको पाटनका स्थानीय सूर्य व्यञ्जनकारले जानकारी दिए ।  उनका अनुसार अध्यापनको जिम्मा लिएको भासराले पनि अहिले बेवास्ता गर्न थालेको छ । भासराले अध्यापन गराउन नियमित रुपमा शिक्षक नपठाएपछि कुमारीको अध्ययन बिग्रेला भनेर परिवार चिन्तित भएको छ ।

यसबारे ललितपुर गुठी संस्थानका प्रमुख बैकुण्ठ आचार्यले कुमारीको अध्ययन निन्तरताका लागि संस्थानले छलफल गर्ने तयारी गरेको बताए । उनले भने, ‘हामीले कुमारीको पारिश्रमिक बढाउन र पढाइका लागि स्थानीय टोल सुधार समिति र नगरपालिकासँग आवश्यक छलफल अघि बढाएका छौँ ।’

प्रकाशित: १९ आश्विन २०७३ ०३:११ बुधबार

पाटनकी कुमारीले पढ्न पाइनन्