सरकारले घोषणा गरेको सुर्खेत उपत्यकाको बिच भागमा रहेको काँक्रेविहार संरक्षण क्षेत्रमा सरोकारवाला निकाय मूकदर्शक हुँदा जनावरहरुलाई पासोमा पारेर मार्ने गरिएको पाइएको छ। सरकारी निकाय उदासीन हुँदा सिकारीहरुकाे निशाना काँक्रेविहार संरक्षण भित्र रहेका जरायोमाथि पर्ने गरेको हो।
पछिल्लो समय जंगल फडानीदेखि तस्कारहरुले जंगली जनावरलाई पासो थापेर, गोली हानेर मार्ने क्रम बढ्दो क्रममा रहेको छ। यसरी चोरी सिकारी दिनप्रतिदिन बढ्दै जाँदा डिभिजन वन कार्यालय र संरक्षित क्षेत्र हेरचाहका लागि बनेका समितिहरु बेकामे बनेका छन्। संरक्षित क्षेत्रमा आरा लगाएर व्यापक रुपमा जंगल फडानी गरेर जंगल नाङ्गो हुने क्रम बढेको हो।
पटक पटक जंगल संरक्षणका लागि डिभिजन वन कार्यालयलाई भन्दा पनि विभागले कार्यविधि लगायतका कुराहरु स्पष्ट नपारेको भन्दै संरक्षणमा आलटाल गरेको स्थानीयले बताए। काँक्रेविहार घुम्न आउने पर्यटकहरुबाट वीरेन्द्रनगर नगरपालिका –९ नम्बर वडा कार्यालयबाट शुल्क मात्र उठाउने तर, जंगल संरक्षणमा कुनै पहल गरेको पाईदैन्।
सुर्खेतको मुख्य पर्यटकीय क्षेत्र काँक्रेविहार भएपनि स्थानीय सरकारको भूमिका खेल्न नसक्दा काँक्रेविहार नाङ्गो डाँडाँका रुपमा परिणत हुन थालेको छ। यहाँभित्र रहेका जनावरहरु खानेपानीको व्यवस्थापन, बाँसको व्यवस्थापन हुन नसक्दा गाउँ पस्ने, सिकारीहरुले पासो थाप्ने लगायतका कारणले दिनानुदिन धरापमा परेको छ।
प्रकाशित: ६ फाल्गुन २०७९ १३:०५ शनिबार