समाज

नौ वर्षमा नौ किलोको टाउको

पाल्पा–वीरकोट–२ पाल्पाका मनोज काम्मु अहिले नौ वर्षको भए। नौ वर्षको हुँदासम्म उनी हिडडुल गर्न, बोल्न सक्दैनन्। उनको शरीरको जम्मा तौल १५ किलोग्रामको छ। जसमा उनको टाउकोको तौलमात्र झण्डै नौ किलोग्राम छ।

‘छोराको उमेर बढ्दै जाँदा टाउको बढ्दै गयो, शरीर सुक्दै । खाना खान समेत सक्दैन । लिटो, दूध, जुस खुवाएर राखेकी छु । पैसा जुटेको खण्डमा उपचार गर्न सकिन्थ्यो कि भन्ने लागेको छ,’ आमा कमला काम्मुले भनिन्, ‘गरीबलाई न सरकारले हेर्दा रहेछ, न कसैले। बाँच्नकै लागि तानसेन नगरपालिका–१३ मा आएर मजदूरी गरेका छौं कमलाले भनिन् ।

गरीब परिवारमा जन्मिएकै कारण मनोजको अहिलेसम्म उपचार हुन सकेन । उनकी आमा कमला काम्मु सहयोगको याचना गर्दै बच्चा सहित गाउँ शहर घुमिरहेकी छन् । बुबा भने मजदूरी गरेर परिवार पाल्ने काममा लागेका छन् । गरिबीकै कारण खान नपुगेपछि मजदूरीकालागि चार वर्ष अगाडि जिल्ला सदरमुकाम तानसेन आएर भारीबोक्ने काम गरेको कमलाले बताइन् ।

उनी भन्छिन्, ‘छोरा जन्मियो । जन्मिएपछि उपचारकालागि युनाइटेड मिशन अस्पताल पाल्पामा लगियो । त्यहाँ उपचार सम्भव छैन अन्यत्रै लानुपर्छ भनेपछि रकमको अभावमा छोराको उपचार हुन सकेन ।’ अहिले त्यही छोरालाई रातदिन हेरेर दिन बिताउँछु । केही गर्न सक्ने उपाय छैन,’ आमा कमलाले भनिन् ।

कमलाले धेरैले सहयोगकालागि आशा देखाएर गएता पनि कहिकतैबाट उपचार गर्न रकम जुट्न नसकेको बताउँछिन् । उनी भन्छिन्, ‘दुईचार लाख भए छोरालाई उपचार हुन्छ कि भनेर अन्यत्रै लैजाने थिए ।’ उनले गरिबीकै कारण अस्पताल जान नसकि घरमै छोरालाई जन्म दिएको बताइन् ।

 

प्रकाशित: १८ आश्विन २०७३ ०३:५१ मंगलबार

वर्षमा किलोको टाउको