समाज

धर्मशालामा शङ्कराचार्यको अन्तर्क्रिया

महाशिवरात्रि पर्वका लागि पशुपति क्षेत्र विकास कोषको निमन्त्रणामा जगन्नाथपुरीस्थित गोवर्द्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वती काठमाडौँ आइपुगेका छन्।

शङ्कराचार्य निश्चलानन्द सरस्वती बिहीबार साँझ काठमाडौँ आइपुगेको कोषका संस्कृति महाशाखा प्रमुख एवं सूचना अधिकारी गौरीशङ्कर पराजुलीले बताए। शङ्कराचार्यलाई कोषका सदस्य सचिव डा.मिलनकुमार थापा लगायत कर्मचारीले स्वागत गरेका थिए।

शङ्कराचार्य निश्चलानन्द सरस्वती पशुपति क्षेत्रस्थित नेपाल-भारतमैत्री धर्मशालामा बसेका छन्। उनका साथमा त्रिदण्डी स्वामी निर्विकलानन्द, ऋषिकेश ब्रह्मचारी, शङ्कराचार्यका अन्तर्राष्ट्रिय प्रभारी प्रेमचन्द्र झा लगायत सात सदस्यीय समूह रहेको छ।

शङ्कराचार्य निश्चलानन्द सरस्वतीले आज पशुपतिनाथमा दर्शन गर्ने कार्यक्रम छ। दर्शनपछि उनले पशुपति क्षेत्रस्थित शङ्कराचार्य मठमा प्रवचन गर्ने कार्यक्रम रहेको बताइएको छ। आजै साँझ उनले धर्मशालामा हुने अन्तर्क्रिया कार्यक्रममा जिज्ञासुका प्रश्नको उत्तर दिने कोषले जनाएको छ।

शङ्कराचार्यसँगै महाशिवरात्रि पर्वका लागि पशुपति क्षेत्रमा साधुसन्तको भीड लागेको छ। यस वर्ष महाशिवरात्रिमा करिब पाँच हजार साधुसन्त पशुपति क्षेत्रमा आउने अनुमान कोषको छ। पशुपति क्षेत्र आएका साधुसन्तलाई बिहीबारदेखि नै भोजन, आवास र धुनीको व्यवस्था गरिएको छ। रासस

प्रकाशित: ५ फाल्गुन २०७९ ०५:२४ शुक्रबार

पशुपति क्षेत्रमा साधुसन्तको भीड