समाज

विपन्न समुदायमा पोषण आहार

सुनाला हजार दिन पोषण कार्यक्रम अन्तर्गत वितरण हुने अण्डा लिन आएका चन्द्रअयोध्यापुरका लक्षित विपन्न समुदाय ।

सिरहा–पोषण कार्यक्रम वितरण हुन थालेपछि सिरहा चन्द्रअयोध्यापुर गाउँका विपन्न समुदाय खुसी महसुस गरेका छन्। पोषण कार्यक्रम अन्तर्गत गर्भवती र सुत्केरी महिलामा अण्डा वितरण हुन थालेको छ।

यो गाउँमा यस वर्षदेखि सुनौला हजार दिन कार्याक्रम सुरुवात भएको छ। जिल्लाका २३ गाविसमा यो कार्यक्रम दुई वर्षदेखि संचालनमा छ। धेरै गाउँमा संचालित कार्यक्रम कोचका कारण प्रभावहीन रहेकोे सुनौला हजार दिन आयोजनाका सिरहा संयोजक विजय यादव बताउँछन्। ‘यो कार्यक्रमको सफलता र असफलता कोचको कार्यशैलीमा निर्भर छ,’ उनी भन्छन्,‘ कोचले असल नियतका साथ काम गरेको गाविसमा कार्यक्रम सफल भएको छ ।’

जिल्लाको चन्द्रअयोध्यापुर र कचनारीको काम तुलनात्मक रुपमा सफल रहेको अनुगमनपछि यादवले बताए । चन्द्रअयोध्यापुर महिला कोच भएका कारण कार्यक्रम प्रभावकारी देखिएको उनले बताए । लक्षित समुदायलाई प्रत्यक्ष लाभ मिल्ने कार्यक्रम छनोट भएर संचालनमा छ। ‘आयोजनाको मुल उद्देश्य कुपोषणका कारण हुने मृत्युदर घटाउनु हो,’ आयोजना सहायक सुर्यनारायण यादव भन्छन्,‘यो गाविसको लक्षित समुदायलाई अण्डा उपलब्ध गराउँदै आएको छ ।’

दलित, मुस्लिम, यादवलगायत समुदायको मिश्रित बसोवास रहेको यस गाउँमा कार्यक्रम प्रभावकारी हुनुमा कोचको सक्रियता कारक रहेको ५ नम्बर वडाका लक्ष्य टोली सदस्य शंकर रेग्मीले बताए। कोचले लक्ष्य टोलीलाई सक्रिय रुपमा परिचालन गरेकै कारण अरु गाविसमा पनि कार्यक्रम सफल भएको  उनले जनाए।

यस गाउँका विपन्न लक्षित समुदायकि अगुवा फुलकुमारी सदाय भन्छिन्, ‘हामी गरिबका लागि यो पोषण कार्यक्रम जिवन दान पाएजस्तो भएको छ। गर्भमा बच्चा हुँदा पनि नुन भात सुत्केरी हुँदा पनि उही नुन भात। विपन्नका लागि आएको यो सुबिधा हामीले उपभोग गर्न पाएकोमा खुसी छौं ।’

कुपोषणको सिकार यहाँका वालवालिका र पोषण अभाव झेलिरहेका महिलाको स्तर उकास्न अण्डा वितरण सुरु गरिएको उनले बताइन्। यो कार्यक्रमले बिपन्न बस्तीमा गर्भवती हुँदा पोणयुतm खानेकुरा खाने वानीको विकास भएको उनले बताइन्।
सुनौला हजार दिन आयोजनाका जिल्ला संयोजक विजय यादव भन्छन्, ‘जिल्लामा संचालित कार्यक्रम मध्ये चन्द्रअयोध्यापुर गाविसको मूल्यांकन अब्बल छ ।’ यहाँ संचालित कार्यक्रमको लाभ लक्षित समुदायले उपभोग गरेको उनले दाबी गरे । ‘यो गाविसको कार्यबाट जिल्लाका अन्य गाविसहरुले पाठ सिक्नुपर्ने अवश्यक छ,’ यादवले भने ।    

कुनै पनि देशमा ४० प्रतिशत भन्दा बढी बालबालिकामा दीर्घ कुपोषण देखिए ती देशमा गम्भीर जनस्वास्थ्य समस्या रहेको मानिन्छ । पछिल्लो तथ्यांक अनुसार, पाँच वर्षमा दीर्घ कुपोषण देखिएका बालबालिकाको संख्या ४९ प्रतिशतबाट ४१ प्रतिशतमा झरे पनि अझै ४५ प्रतिशत बालमृत्यूदर कुपोषणकै कारण हुने युनिसेफको तथ्यांक छ ।

 

प्रकाशित: १६ आश्विन २०७३ ०६:३३ आइतबार

विपन्न समुदायमा पोषण आहार