बकैया नदीमा पुल निर्माणको एक सूत्रीय माग राख्दै आमरण अनसनमा रहेका पत्रकार संजय कुमार सहनीले अनसन तोडेका छन्।
सम्बन्धित निकायसितको लिखित सम्झौता भएपछि पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको हातबाट जुस पिउँदै सहनीले अनसन तोडेका हुन्।
गत चार दिनदेखि पत्रकार सहनी बकैया किनारमा आमरण अनसन बसेका थिए। सदरमुकाम गौरको टिकुलिया घाटमा अनसन बसिरहेका सहनीले बकैया नदीमा पुल निर्माण तत्काल हुनुपर्ने माग राखेका थिए।
आठ वर्ष पहिले नै तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले शिलान्यास गरेको पुलको करिब आधा काम सम्पन्न भइसकेर अलपत्र छाडिएको छ। पुल निर्माणको ठेक्का लिएको पप्पु कन्स्ट्रक्सनले आठ वर्षदेखि अलपत्र छाडेका कारण गौर, इशनाथ, राजपुर, परोहा लगायतको पालिकाका लाखौँ सर्वसाधारणलाई आवतजावत गर्न कठिनाइ भइरहेको छ।
डेढ वर्षभित्र पुल निर्माण भइसक्ने, चालू आर्थिक वर्षमै निर्माण कार्यको पुनः सुरुआत गर्ने सर्तमा सहमति भएपछि अनसनरत सहनीले अनसन तोडेका हुन्।
आन्दोलनरत सहनीसँग पुल महाशाखा प्रमुख उमेश बिन्दु श्रेष्ठ, सङ्घीय सडक प्रमुख डा. विजय जैसी तथा सडक डिभिजन कार्यालय रौतहट प्रमुख दरोगा साहले समयमै पुल बनाउने सहमति गरेका हुन्।
सहमति भएपछि पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सङ्घीय सांसद किरण साह, प्रदेश सांसद नागेन्द्र साह, गौर नगरपालिकाका नगर प्रमुख शम्भु साह, रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रसहितको उपस्थितिमा अनसनरत सहनीलाई जुस पिलाउँदै आमरण अनसनको अन्त्य गरेका छन्।
लाखौँ जनताको आशाको रूपमा रहेको पुलको निर्माण समयमै हुने विश्वास आफूले लिएको पत्रकार सहनीले बताएका छन्।
चार दिनदेखि आमरण अनसनरत सहनीको स्वास्थ्य स्थिति खराब हुँदै गएको थियो। स्लाइन पानी चढाएर राखिएको सहनीले राज्यको तत्काल ध्यानाकर्षण भएको र राज्यले आफ्नो दायित्व बुझ्ने प्रतिक्रिया दिएका छन्।
पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफूले पुल निर्माणसित सम्बन्धित सबै निकायसित समन्वय गरेर र पुल निर्माणको लागि दबाब दिएर निर्धारित समयमा काम सम्पन्न गराउन प्रतिबद्ध रहेको बताएका छन्।
प्रकाशित: ४ फाल्गुन २०७९ १३:२८ बिहीबार