समाज

राष्ट्रिय सम्मानसहित पूर्वमन्त्री घिमिरेको कुशको शव बनाएर अन्त्यष्टि

काठमाडौं–छ दिन पहिले गत आइतबार सवारी दुर्घटनामा परेर त्रिशुलीमा बेपत्ता भएका पूर्व गृह तथा परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरेसहति बेपत्ता तीनजनाको अन्त्यष्टी गरिएको छ। कुशको शव बनाएर तीनैजनाको शुक्रबार पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको हो।

घिमिरेलाई नेपाल प्रहरीको सलामीसहित राष्ट्रिय सम्मान दिइएको थियो। आर्यघाटमा गृहमन्त्री विमलेन्द्र निधि, नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल लगायत राजनीतिक दलका नेता, उच्च सरकारी अधिकारी, पूर्व कर्मचारी अन्त्यष्टीमा सहभागी थिए।

दुर्घटनामा निधन भएकी घिमिरेकी आमा चैतन्याको शव पनि शुक्रबार नै आर्यघाटमा अन्तिम दाहसंस्कार गरिएको छ।

पृथ्वी राजमार्गको दारेचोकमा घिमिरे सवार गाडी दुर्घटना हुँदा घिमिरेकी आमा चैतन्या, आफन्त नारायणप्रसाद काफ्ले र अंगरक्षक रामचन्द्र कार्कीको निधन भएको थियो।

पूर्व मुख्य सचिव समेत रहेका घिमिरेसहित भाइहरु मोहन र प्रकाश घिमिरे अझै बेपत्ता छन्। उनीहरु तीनैजनाको खोजीकार्य जारी छ। दुर्घटनामा परेका गाडी चालक विष्णु राईको जिवितै उद्दार गरिएको थियो। उनी अहिले उपचाररत छन्।

प्रकाशित: १४ आश्विन २०७३ ११:१९ शुक्रबार

राष्ट्रिय सम्मानसहित पूर्वमन्त्री घिमिरेको कुशको शव बनाएर अन्त्यष्टि