समाज

चन्द्र भण्डारी र उनकी आमालाई थप उपचारको लागि देशबाहिर लैजान सिफारिस

ग्यास सिलिण्डर विस्फोटबाट घाइते भएका नेपाली कांग्रेस सांसद चन्द्र भण्डारी र उनकी आमालाई थप उपचारको लागि देशबाहिर लैजान अस्पतालले सिफारिस गरेको छ।

अस्पतालले एक विज्ञप्ति जारी गर्दै थप उपचार नेपालमा सहज नहुने भएकोले दुवै जनालाई देशबाहिर सुविधा सम्पन्न अस्पतालमा लैजान सिफारिस गरिएको उल्लेख गरेको छ।  

विस्फोटमा परी चन्द्र भण्डारीको २५ -३०  प्रतिशत र आमा ८६ वर्षिया हरिकला भण्डारीको ७० प्रतिशत शरीरको भाग जलेको छ। उनीहरुको अवस्था गम्भीर छ।  सांसद भण्डारीको फोक्सो र श्वास नलीमासमेत असर परेकाले थप उपचारका लागि भारत लैजान चिकित्सकले सिफारिस गरेका छन् ।

काठमाडौं बुद्धनगरस्थित घरमा बुधवार राति १० बजे तिर विस्फोट भएको थियो। करिब साढे नौ बजतिर भण्डारी घर पुगेका थिए।  घर पुगेको केही समयमा नै विस्फोट भएको थियो। आमा भान्सामा गएको बेला विस्फोट भएको र आमालाई बचाउन जाँदा भण्डारी पनि घाइते भएको बुझिएको छ। ठुलो आवाजसहित विस्फोट भएर आमाछोरा जलेको देखेपछि माथिल्लो तलामा बस्ने उनका भाई र अन्य छिमेकीले उद्धार गरी अस्पताल पुर्याएका थिए।  

विस्फोटमा परेर जलेका आमाछोराको उपचार अहिले कीर्तिपुर बर्न अस्पतालमा भइरहेको छ । गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा नेता भण्डारी गुल्मी क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

प्रकाशित: ४ फाल्गुन २०७९ ०३:४८ बिहीबार