समाज

ग्यास विस्फोटमा घाइते भएका चन्द्र भण्डारीलाई थप उपचारको लागि भारत लैजाने तयारी

घरमा ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका नेपाली कांग्रेसका नेता तथा सांसद् डाक्टर चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लैजाने तयारी भइरहेको छ। कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माका अनुसार थप उपचारको लागि आवश्यक परे भारत लैजानेबारे चिकित्सकहरुसँग परामर्श गरिँदै छ। भारतमा पाइने उपचार र प्रविधि नेपालमै भए यतै उपचार गर्ने, नभए भारतको मुम्बई लगिने तयारी गरिएको शर्माले बताए।  

विस्फोटमा परी  भण्डारीको ८६ वर्षकी आमा हरिकलासमेत घाइते भएकी छन्। ७० प्रतिशत शरीर जलेकी भण्डारीको अवस्था गम्भीर छ। उनको आइसियूमा उपचार भइरहेको छ।

२५ प्रतिशत शरीर जलेका सांसद् भण्डारीको पनि आइसियुमा उपचार भइरहेको छ। चन्द्रको फोक्सो र श्वासनलीमा पनि असर देखिएको छ। सांसद् भण्डारीको पूर्ण रिपोर्ट आउन बाँकी छ। अहिले 'कुलिङ' मात्र गराइएको शर्माले जानकारी दिए। जलेका बिरामीलाइ सुरुमा 'कुलिङ' प्रविधिबाट उपचार गराइन्छ।  

काठमाडौं बुद्धनगरस्थित घरमा बुधबार राति करिब साढे नौ बजे भण्डारी पुगेका थिए।  घर पुगेको केही समयमा नै विस्फोट भएको थियो। आमा भान्सामा गएको बेला विस्फोट भएको र आमालाई बचाउन जाँदा भण्डारी पनि घाइते भएको बुझिएको छ। ठुलो आवाजसहित विस्फोट भएर आमाछोरा जलेको देखेपछि माथिल्लो तलामा बस्ने उनका भाई र अन्य छिमेकीले उद्धार गरी अस्पताल पुर्याएका थिए।  विस्फोटमा परेर जलेका आमाछोराको उपचार अहिले कीर्तिपुर बर्न अस्पतालमा भइरहेको छ।

गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा नेता भण्डारी गुल्मी क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।

प्रकाशित: ४ फाल्गुन २०७९ ०३:०८ बिहीबार

नेपाली कांग्रेस