समाज

पच्चीस सहसचिव कामविहीन

मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालय, संघीय मामिला, गृह लगायत मन्त्रालयका दुई दर्जनभन्दा बढी सहसचिव जिम्मेवारी नपाएर कामविहीन भएका छन्। अहिले उनीहरूको काम मन्त्रालय जाने, हाजिर गर्ने, बरन्डामा बसेर घाम ताप्नेमा सीमित छ।

काठमाडौं उपत्यका बाहिरका धेरैजसो कार्यालयमा माथिल्लो तहका कर्मचारी नहुँदा तोेकिएको दरबन्दीभन्दा मुनिका कर्मचारीलाई कायममुकायम दिइएको छ। सहसचिवको दरबन्दी भएका जिल्लामा समेत उपसचिवलाई प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ।

गृह मन्त्रालय स्रोतका अनुसार अहिले मन्त्रालयमा आठजना सहसचिवले जिम्मेवारी पाएका छैनन्। उनीहरूलाई बस्ने कोठा समेत दिइएको छैन। बस्ने ठाउँ नहुँदा उनीहरू बरन्डामा घाम तापेर बस्न बाध्य छन्। गृह मन्त्रालय स्रोतका अनुसार सहसचिव नारायण रिसाल, गोविन्द रिजाल, रुद्रादेवी शर्मा, आसमान तामाङ, उमेश ढकाल, सुमन घिमिरे, थानेश्वर गौतम र लालबाबु कवारीलाई जिम्मेवारी दिइएको छैन। उपसचिवतर्फ मित्रलाल शर्मा, कल्पना शर्मा, गंगाबहादुर क्षेत्री लगायतलाई पनि जिम्मेवारी तोकिएको छैन।

अर्थ मन्त्रालयबाट मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयमा तानिएका भूपाल बराललाई पनि जिम्मेवारी दिइएको छैन। उनलाई प्रधानमन्त्री कार्यालयमा अतिरिक्त समूहमा राखिएको छ।

त्यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा १६ जना सहसचिवलाई काम नदिएर अतिरिक्त समूहमा राखिएको छ। चिरञ्जीवी पौडेल, नरेश गौतम लगायत ४० दिन पहिले उपसचिवबाट सहसचिवमा बढुवा भएका थिए। बढुवा भएका उनीहरूलाई अझै जिम्मेवारी तोकिएको छैन।

प्रकाशित: ४ फाल्गुन २०७९ ०१:५६ बिहीबार

बरन्डामा घाम तापेर बस्न बाध्य जिम्मेवारी नपाएर कामविहीन